site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनमाथि निषेधको राजनीतिक गरेको आरोप ! जितजंगले कसलाई भनेका हुन् ‘नेपो ज्वाइँ’ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले महामन्त्री गगन थापाले निषेधको राजनीति गरेको आरोप लगाएका छन् । नेपाल तरुण दलका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले भदौ २२ गतेदेखि ०८३ सालमा महाधिवेशन गर्ने भन्दै हिँडेको र २५ गतेदेखि सभापति शेरबहादुर देउवालाई बाहिर राखेर महाधिवेशन गर्ने भनेको बताए । 

“कार्यवाहक सभापति तथा महामन्त्रीद्वयबीच केही संवाद प्रयासहरू भएको सुन्न आएको छ । यसमा मेरो कुनै गुनासो छैन, किनकि त्यो बेलाको राजनीतिक परिस्थिति उहाँहरूको पनि अत्यन्त जटिल थियो तर, २२ गतेसम्म सबैजना सभापतिसँग मिलेर बस्ने– सरकार सञ्चालनमा भाग बाँडेर बस्ने अनि २५ गतेदेखि अचानक सभापतिलाई छाडेर अधिवेशन, वाह ! निषेध–राजनीति,” बस्नेतले भने, “पार्टी सभापतिको रगतको टाटा सुक्न नपाउँदै, भिडियो कन्फरेन्समार्फत आलो घाउ मै सभापतिमाथि प्रहार गर्नुपर्ने जरुरी किन थियो ? मानवीयता कतै हराएजस्तो देखियो ।” 

उनले २४ गतेको आक्रमण देउवाविरुद्ध मात्र नभएको भन्दै सम्पूर्ण पार्टीमाथि आक्रमण हुँदा कसैले त्यसलाई अवसरका रूपमा लिएको आरोप लगाए । “यसले भोलि कांग्रेसलाई नै ‘प्याकफायर’ गर्छ । त्यसैले दुई महामन्त्रीहरू असफल भइसक्नु भएको छ,” बस्नेतले भने, “पदीय दायित्वबाट बिदा लिनु पर्दछ । उहाँहरू ‘टेस्टेड’ भइसक्नु भयो ।” 

उनले पार्टीमा फरक मत र गाली गर्नेहरूलाई, समान विचार राख्ने सभापतिका पक्षमा मत राख्नेलाई महामन्त्रीका समर्थकहरूले समाजिक सञ्जालबाट श्रद्धाञ्जली भन्ने गरेको भन्दै राजनीतिक संस्कारमा प्रश्न उठाए । “गाली–गलौज, हमला, घरमा आगजनी, आफ्नै श्रीमतीसहित ज्यानमाथि खतरा हुँदा पनि उहाँले रिस–क्रोध देखाउनु भएन । केन्द्रीय समितिमा फरक मत राख्ने सबैलाई सम्मानपूर्वक सुन्ने, काखापाखा नगर्ने, संयमित रहने चरित्र हामीले दशकौँदेखि देखेका छौँ,” बस्नेतले भने, “तर दुःखद, आज फरक विचार राखियो भने सोसल मिडियामा गाली, श्रदाञ्जलीसम्म लेखिन्छ !” 

उनले सभापतिसहितको नेतृत्व बाहिर राखेर अधिवेशन गर्छु भन्ने महामन्त्रीसँग मत बाझियो भने ‘नेपो किड्स’ भनिने गरेको बताए । “महामन्त्रीसँग मत बाझियो भने ‘नेपो किड्स, ‘खरानी बनाउने’ भन्ने आक्रमक संस्कृति फैलिएको छ । यो कस्तो लोकतान्त्रिक संस्कार ?,” उनले प्रश्न गर्दै भने, “हामी ‘नेपो किड्स्’ होइनौँ, ‘नेपो ज्वाइँ’ पनि होइनौँ –हामी शुद्ध कांग्रेसी ‘क्याडर्स’ हौँ ।” 

उनले भदौ २४ मा सभापति र पार्टी कार्यालयसमेत बचाउन नसकेकोमा आत्मग्लानी भएको भन्दै पश्चाताप व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्