काठमाडौं । चीनको प्रशासनले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि नयाँ उपायहरूको घोषणा गरेको छ ।
चीनमा प्राथमिक र माध्यमिक विद्यालयहरूमा अध्ययन गरिरहेका बालबालिकामा पढाइको बोझ कम गर्न र उनीहरूको स्क्रिन टाइम घटाउन दैनिक दुई घण्टा शारीरिक व्यायाम गर्न अनिवार्य गरिने समाचार एजेन्सी रोयटर्सले बताएको छ ।
यी उपायहरूको उद्देश्य बालबालिकालाई तनाव र चिन्तासँग जुध्न मद्दत गर्नु रहेको बताइएको छ ।
शिक्षा मन्त्रालयद्वारा जारी गरिएका यी उपायहरूमा कक्षा कोठामा मोबाइल फोनमाथि प्रतिबन्ध लगाउनु पर्ने पनि समावेश छ ।
नयाँ योजनाअनुसार, विद्यालयहरूले बालबालिकालाई दिइने गृहकार्यलाई कडा रूपमा नियन्त्रण गर्नुपर्नेछ । उनीहरूलाई दैनिक दुई घण्टा शारीरिक व्यायामका लागि समय दिनुपर्नेछ ।
यसका अतिरिक्त बालबालिकाहरूलाई दिउँसोको खानाका लागि पर्याप्त समय दिनुपर्ने बताइएको छ । बालबालिकाहरूले पर्याप्त निद्रा पाउन सकुन् भन्ने उद्देश्यले विद्यालयको समय निर्धारण गर्नुपर्ने बताइएको छ ।