site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी इतिहासकै लामो सटडाउन ४३ दिनपछि समाप्त, विपक्षीले भने– लडाइँ अझै जारी छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सरकारी फन्डिङ विधेयकमा हस्ताक्षर गरेका छन् । यससँगै ४३ दिनदेखि जारी 'सटडाउन' समाप्त भएको छ । उक्त विधेयकलाई हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) ले २२२–२०९ को मतान्तरले पारित गरेको थियो । सो विधेयक सिनेट (माथिल्लो सदन) बाट पहिले नै पारित भइसकेको थियो ।

यद्यपि, यसमा हेल्थ केयर कार्यक्रमअन्तर्गतको अनुदान (ओबामा केयर) का प्रिमियम ट्याक्स क्रेडिटहरू बढाउने कुनै प्रावधान गरिएको छैन । यी क्रेडिटहरू ३१ डिसेम्बर २०२५ मा समाप्त हुनेछन् ।

ट्रम्पले हस्ताक्षर गरेपछि भने, “देश यसभन्दा राम्रो स्थितिमा कहिल्यै थिएन । यो एक महान दिन हो ।”

यो विधेयकले सरकारले ३१ जनवरीसम्म फण्डिङ प्राप्त गर्ने व्यवस्था गरेको छ । जसअनुसार एजेन्सीहरूले सो म्यादभित्र कर्मचारीहरूको कटौती गर्न पाउने छैनन् ।

तर, डेमोक्रेटिक पार्टीका केही नेताहरूले अनुदानको ट्याक्स क्रेडिटहरू बढाउने संघर्ष जारी रहने बताएका छन् । उनीहरूले भने, “यो लडाइँ अहिले समाप्त भएको छैन, हामी लडिरहनेछौँ ।”

यो मतदान डेमोक्रेटहरूले न्यू जर्सी र एरिजोनामा भएका हाई–प्रोफाइल चुनावमा जित हासिल गरेको आठ दिनपछि भएको हो । धेरैको विश्वास के थियो भने यसले स्वास्थ्य बीमा सब्सिडी विस्तारको सम्भावनालाई बलियो बनाउनेछ, जुन वर्षको अन्त्यमा समाप्त हुँदैछ ।

तर, सम्झौताअन्तर्गत डिसेम्बरमा सिनेटमा यी अनुदानबारे मतदान गर्ने वाचा गरिएको भए पनि हाउसमा भने त्यस्तो कुनै वाचा गरिएको छैन । रिपब्लिकन सांसद डेभिड श्वाइकर्टले यसलाई एउटा यस्तो टीभी शो जसमा खास मुद्दा नै के थियो भनेर नबुझेको भन्दै व्यङ्ग्य गरे । त्यस्तै, डेमोक्रेट सांसद मिकी शेरिलले भने, “सदन ट्रम्पको ‘रबर स्ट्याम्प’ नबनोस्, जसले बालबालिकाबाट खाना र उपचार खोस्दैछ । देशले हार मान्न हुँदैन ।”

बुधबार राति हाउसले फण्डिङ बिल पारित गरेपछि डेमोक्रेटिक नेता हकिम जेफ्रीज, ह्विप क्याथरिन क्लार्क र ककस चेयर पिट एगुइलरले संयुक्त बयान जारी गर्दै गरीब र मध्यम वर्गका अमेरिकीहरूका लागि स्वास्थ्य बीमा सस्तो बनाउने क्रेडिटहरूलाई तीन वर्षका लागि बढाउन प्रयास गर्ने बताएका छन् ।

हकिम जेफ्रीजले भने, “यो लडाइँ अहिले समाप्त भएको छैन । हामी अहिले मात्र सुरु गर्दैछौँ । हामी आज लड्नेछौँ, भोलि लड्नेछौँ, यो हप्ता लड्नेछौँ, अर्को हप्ता लड्नेछौँ, यो महिना लड्नेछौँ, अर्को महिना लड्नेछौँ, जबसम्म अमेरिकी जनताका लागि यो लडाइँ जित्दैनौँ ।”

उनले रिपब्लिकन नेताहरूलाई स्वास्थ्य नीतिहरूमा सहकार्य गर्न पनि अपिल गरे ।

ट्रम्पले समामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, “ओबामा केयर अनुदान हेल्थ इन्स्योरेन्स कम्पनीहरूका लागि मुनाफा र अमेरिकी जनताका लागि विपत्ति हो ।”

उनका अनुसार, अनुदानको सट्टा नागरिकहरूलाई सिधै पैसा दिएर उनीहरूलाई आफ्ना मनपर्ने बीमा योजना किन्न सक्ने अधिकार दिनुपर्छ । उनले अगाडि लेखे, “दुवै पार्टीसँग मिलेर यो समस्याको समाधान गर्न तयार छु । सरकार खुल्नेबित्तिकै यसबारे सहमति गरौँ ।”

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्