काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि नयाँ दल खोल्नेको लहर नै चलेको छ । आउँदो चुनावलक्षित नयाँ दल दर्ताका निम्ति निर्वाचन आयोगले तोकेको म्याद सकिन तीन दिन बाँकी छ । आयोगले यही कात्तिक ३० गतेसम्म दल दर्ताको समय निर्धारण गरेको छ ।
जेनजी आन्दोलनपछि आयोगमा पाँच दल दर्ता भइसकेका छन् । बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत सदस्य रहने गरी दिनेशराज प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता गरिएको छ ।
यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको नेतृत्वमा श्रमशक्ति पार्टी नेपाल दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता सुुरेन्द्र भण्डारीको नेतृत्वमा नेपाल नागरिक पार्टी दर्ता गरिएको छ ।
जनमत पार्टी विभाजन भएर जनस्वराज पार्टी गठन गर्दै आयोगबाट दर्ताको प्रमाणपत्र लिइएको छ ।
रेमशलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाललाई बुधबार (कात्तिक २६) मात्र दर्ताको प्रमाणपत्र दिइएको छ ।
अरू प्राप्त निवेदन दर्ताको प्रक्रियामा रहेको र कागजात पूरा नगरेकालाई मागिएको आयोगको राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङको दल दर्ताका निम्ति आयोगमा निवेदन दिइएको छ । उज्यालो नेपाल पार्टी दर्ताका निम्ति गएको साउनमा नै निवेदन दिइएको थियो । हालै पार्टीको कार्यसमिति हेरफेर गरेर पुनः निवेदन दिइएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उक्त पार्टीको विवरण मंगलबार (कात्तिक २५) आयोगमा बुझाइएको हो ।
अजयकुमार राई नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी, पूर्वराजदूत नवराज सुवेदीको जनयुग पार्टी दर्ताका निम्ति पनि आयोगमा निवेदन दिइएको छ ।
यसैगरी, अभियन्ता खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ताको माग गरेका छन् ।
हिमालयबहादुर चन्दले नेपाल राष्ट्रिय युवा पार्टी दर्ताका निम्ति कात्तिक १९ गते निवेदन दिएका थिए ।
राष्ट्रिय जेजनी पार्टी नेपाल दर्ताको निवेदन दिएका हीरा सोती भने उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिमा बसेका छन् ।
निवर्तमान सांसद योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी दर्ताका निम्ति निवेदन दिएका छन् ।
आयोगमा चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, रत्नप्रकाश श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेखको नेतृत्वमा राष्ट्रिय स्वराज पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) दर्ताका निम्ति राजकुमार कक्षपतिले निवेदन दिएका छन् ।
सुन्दरराम बोहोराले आवाज पार्टी, गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाले नागरिक बचाउ दल, नेपाल, अकबर खानले राष्ट्र निर्माण दल नेपाल दर्ताका निम्ति निवेदन दिएका छन् ।
अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल दर्ताको निवेदन पनि आयोगमा दिइएको छ ।