काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारिन् । "उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ । यता भाडा बढेको बढ्यै छ । यस्तो पनि हुन्छ ?" उनले भनिन् ।
उनले प्रक्रियागत बहाना नगर्न पनि आग्रह गरिन् । "सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ," उनले भनिन्, "कुनै प्रक्रियागत बहाना नगरौँ । यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन ।"
उनले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गरिन् । उनले भनिन्, "मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन । गलत काम गर्दा मात्र डराउनुहोस् ।"