site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा ठूलो आणविक ऊर्जा कम्पनीमा घोटालाको संकेत

काठमाडौं । रूसी सेनाका नयाँ आक्रमणहरूका कारण युक्रेनको ऊर्जा प्रणाली नराम्ररी बिग्रिएको छ । जाडो सुरु हुनुअघि नै धेरै क्षेत्रहरूमा बिजुली कटौती भइरहेको छ ।

यसैबीच, युक्रेनमा एक आणविक ऊर्जा कम्पनी ‘एनेर्गोएटम’मा ठूलो घोटाला र घुसखोरीको मामिला बाहिर आएको छ, जसले उच्च युक्रेनी अधिकारीहरूमाथि प्रश्न उठेको छ । 
 
मिडिया रिपोर्टहरू अनुसार, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका नजिकका एक सहयोगीको नाम पनि यसमा जोडिएको छ । जनताको दबाबपछि जेलेन्स्कीले न्याय र ऊर्जा मन्त्रीहरूलाई बर्खास्त गर्ने आदेश दिएपछि दुवै मन्त्रीले राजीनामा दिएका छन् ।

भ्रष्टाचार विरोधी निकायहरूले १५ महिनाको अनुसन्धानमा एक हजार घण्टाको टेलिफोन जासुसी गरेपछि पाँचजनालाई हिरासतमा लिएका छन् । करिब चार हजार १०० मिलियन डलरको घुसखोरी मामिलामा अन्य आठजनाको संलग्नता रहेको आशंका गरेका छन् ।

युक्रेनको भ्रष्टाचार विरोधी ब्युरोले आठजनालाई घुसखोरी, पदको दुरुपयोग र अवैध सम्पत्ति आर्जनको आरोप लगाएको छ । यसले टेपहरू पनि सार्वजनिक गरेको छ, जहाँ समूहले कोड नाम र सांकेतिक भाषा प्रयोग गरेर कमिसन र घुबारे छलफल गरेको सुनिन्छ ।

भ्रष्टाचार विरोधी ब्युरोका अनुसार, जेलेन्स्कीका पूर्वव्यापारिक साझेदार मिन्डिचलाई भ्रष्टाचार योजनाको मुख्य योजनाकार मानिएको छ ।

इजरायली नागरिक रहेका मिन्डिच र त्सुकरम्यान दुवैमाथि तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।
बुधबार, यो अनुसन्धानकै बीच युक्रेनका न्यायमन्त्री जर्मन हलुश्चेन्को र ऊर्जामन्त्री स्विटलाना ह्रीन्चुकले राजीनामा दिएका छन् । 

युक्रेनी अधिकारीहरू बढ्दो ऊर्जा अभावलाई सम्बोधन गर्न युरोपेली कोष जुटाउन लागिपरेका छन् ।
 
रूसी आक्रमणका कारण युक्रेनको सेना धेरै इलाकाबाट पछाडि हटिरहेको छ । चार वर्षदेखि चलिरहेको युद्धमा सर्वसाधारण जनताको मनोबल कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

युक्रेनमा सबै सरकारी कम्पनीहरूको बृहत् लेखा परीक्षण सुरु
ऊर्जा कम्पनी ‘एनेर्गोएटम’ वरिपरिको भ्रष्टाचार विरोधी अनुसन्धान चलिरहेकै बेला किभले सबै सरकारी स्वामित्वका कम्पनीहरूको लेखा परीक्षण सुरु गरेको छ । यस निर्णयको घोषणा गर्दै युक्रेनकी प्रधानमन्त्री युलिया स्विराइदेन्कोले  भनिन्, “भ्रष्टाचार उन्मूलन प्रतिष्ठा र मर्यादाको विषय हो ।”

प्रधानमन्त्री स्विराइदेन्कोले बिहीबार घोषणा गरेअनुसार, सरकारी स्वामित्वको एनेर्गोएटम कम्पनीसँग सम्बन्धित घुसखोरी योजनाको अनुसन्धान चलिरहेकै बेला युक्रेनले सबै सरकारी कम्पनीहरूको ठूलो भ्रष्टाचार विरोधी लेखा परीक्षण सुरु गर्दै छ ।

यसअघि बिहीबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार छानबिनमा संलग्न व्यवसायी तिमुर मिन्डिच र ओलेक्सान्द्र त्सुकरम्यानमाथि प्रतिबन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका थिए । द टाइम्स अफ इन्डिया

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्