बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आउँदो मंसिर ८ गतेदेखि सुरु हुने गरी प्रदेशसभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् । यही कात्तिक २४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट हिउँदे अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम मंसिर ८ गते सोमबार दिउँसो १ बजेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव धुर्वकुमार कुँवरले जानकारी दिए ।
हिउँदे अधिवेशनमा छलफलका निम्ति प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरिएको छ ।
यस्तै, दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ ।
विभिन्न समिति र महालेखापरीक्षकको प्रतिवेदन पनि दर्ता गरेर हिउँदे अधिवेशनमा छलफलका निम्ति प्रस्तुत गरिनेछ ।
गएको भदौ ३१ गते लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।