काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गरेका छन् । नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे ।
उनले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे ।
"हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ । त्यसको लागि न्याय होइन यो । सिंहदरबार जल्नु भनेको देश रुनु हो । पशुपतिनाथ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो । न्यायालय जल्नु भएको एकदम दुखद कुरा हो । यो सबै हुँदा निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन," उनले भने ।
उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह समेत गरे । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिह्न खडा हुने चेतावनी समेत दिए । "जेनजी साथीहरू तपाईंहरूले सोझै निर्वाचन नभनिदिनुहोला । देश रोएको छ । सोझै निर्वाचनमा जाने, यो वैधानिक, त्यो वैधानिक, वैधानिकता त हामी पनि बुझ्दछौँ । धेरैले बुझनुहुन्छ," उनले भने ।
अभियन्ता ढुंगानाले युवाहरू विदेश पलायन हुनेक्रम बढिरहेकाले त्यसलाई रोक्न आवश्यक निर्णय लिनुपर्ने बेला आएको उल्लेख गरे । न्युज एजेन्सी नेपाल