site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको भावी दिशानिर्देशका विषयमा प्रदीप गिरि संस्थानले सुरु गर्‍यो छलफल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरि संस्थानले ‘आइडिया अफ कांग्रेस’ अन्तरक्रिया कार्यक्रमको सुरुआत गरेको छ । शनिबार (कात्तिक २९) राजधानीमा ‘आइडिया अफ कांग्रेस’ कार्यक्रम गरिएको हो ।

पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायमा केन्द्रित यो छलफलले कांग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र नौ लाख रहेका तथ्यांक सार्वजनिक गरे । बाँकी मतदाता शुभेच्छुक रहेका उनले बताए । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उनको भनाइ थियो ।

पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेकपा (एमाले)सँग मिलेर सामाजिक सञ्जाल निष्क्रिय गर्ने कार्य कांग्रेसको आधारभूत सिद्धान्तविपरीत भएको भन्दै उनले आलोचना गरे ।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट १०० भन्दा बढी युवा ‘डेमोर्क्र्याट’को सहभागितामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीजस्ता विभिन्न पेसाका विज्ञले कांग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकाका विषयमा खुला बहस गरेका उनले बताए । यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाको भनाइ थियो ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र कांग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउनेछ । उक्त प्रतिवेदनले पार्टीको आउँदो दिशानिर्देश, नीतिगत अवलम्बन र संगठन सुधारमा संस्थागत टेवा पुर्‍याउने विश्वास लिइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्