site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले ‘असम्भव’ चुनावको पछाडि लाग्दैन : शंकर पोखरेल

सुर्खेत । नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचन ‘नहुने सम्भावना’ भन्दै नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले शनिबार (कात्तिक २९) सुर्खेतमा सञ्चारकर्मीसँग पार्टीले ‘चुनाव अनिश्चितता’लाई राजनीतिक रणनीतिका रूपमा अघि बढाएको स्पष्ट पारे ।

उनले चुनावको तयारी बाहिरबाट हेर्दा देखिएजस्तो सहज नभएको जिकिर गरे । देशमा ‘नयाँ शक्ति सम्पर्क र षड्यन्त्र’ चलिरहेको उनले आरोप लगाए ।

वर्तमान राजनीतिक अस्थिरता, ‘संविधानविपरीत कदम’का शृंखला र सरकारका गतिविधिले निर्धारित मितिमा चुनाव हुनेमा उनले शंका व्यक्त गरे ।

पोखरेलले भने, “देशलाई चुनावको नाम दिएर थप संकटतिर धकेल्ने प्रयत्न भइरहेको छ । एमाले असम्भव चुनावको पछाडि लाग्दैन ।”

अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका प्रक्रियामा एमालेले निरन्तर प्रश्न उठाइरहेको उनले उल्लेख गरे ।

उनले विघटित प्रतिनिधिसभालाई पुनः सक्रिय बनाएर नयाँ सहमति निर्माण गर्नुपर्ने धारणा राखे । उनले संसद् विघटनको निर्णयलाई ‘राजनीतिक रूपमा अस्वीकार्य’ भने ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले ब्युँताइदिएको उदाहरण दिए । अहिले पनि संसद् पुनर्स्थापनाको सम्भावना रहेको उनको भनाइ थियो ।

‘जेनजी’ आन्दोलनपछि सामाजिक सञ्जालमा ठूलो संख्यामा ‘फेक एकाउन्ट’ सक्रिय गराइएको उनले जिकिर गरे । त्यसले आन्दोलनको वास्तविक प्रभावलाई कमजोर पारेको उनले टिप्पणी गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्