site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हावा धेरै प्रदूषित हुँदा पनि भारतले वायु प्रदूषणको मापन ५०० मा पुगेर किन रोक्छ ?

काठमाडौं । उत्तरी भारतका लाखौँ मानिसका लागि नोभेम्बरको हावामा खरानीको स्वाद मिसिएको हुन्छ । आकाशमा स्पष्टै घना तुँवालो देखिन्छ र बाहिर निस्कनु पनि चुनौतीपूर्ण हुन्छ ।

धेरैको बिहानको दिनचर्या 'हावा आज कति खराब छ ?' भनेर नहेरी सुरु हुँदैन । तर, उनीहरूले के देख्छन् भन्ने कुरा उनीहरूले कुन मोनिटर प्रयोग गर्छन् भन्नेमा निर्भर हुन्छ ।

सरकारी एसएएफएआर र एसएएमईईआर जस्ता एपहरूमा वायु प्रदूषणको मापन ५०० मा रोकिन्छ, त्योभन्दा अघि बढ्दैन । यो भारतको वायु गुणस्तर सूचकांकको उच्चतम सीमा हो । यस सूचकांकले पीएम २.५, पीएम १०, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड र ओजोन जस्ता प्रदूषकहरूको जटिल तथ्यांकलाई एउटै संख्यामा रूपान्तरण गर्छ ।

तर, आईक्यूएयरजस्ता अन्तर्राष्ट्रिय ट्रयाकरहरू वा खुला–स्रोत मोनिटरिङ प्लेटफर्म एक्यूआईले प्रायः भारतका आधिकारिक मापनभन्दा धेरै उच्च रिडिङ देखाउँछन् । कहिलेकाहीँ ६०० नाघ्छ भने केही दिन १००० सम्म पुग्ने गरेको छ ।

यसले हरेक वर्ष एउटै प्रश्न उठ्छ– कसको तथ्यांकमा विश्वास गर्ने ? र, भारतले ५०० भन्दा माथिको प्रदूषणको तह किन आधिकारिक रूपमा रिपोर्ट गर्दैन ?

भारतको आधिकारिक एक्यूआईअनुसार, २०० भन्दा माथिको वायु गुणस्तरमा धेरै मानिस लामो समयसम्म रहँदा सास फेर्नै गाह्रो हुने अवस्थामा पुग्छन् ।

४००–५०० को बीचका रिडिङ 'गम्भीर' मानिन्छन्, जसले सामान्यतया स्वस्थ मानिसलाई समेत प्रभावित पार्छ र रोग भएका व्यक्तिलाई झन् गम्भीर असर गर्छ ।

तर, मापन स्केल ५०० मा गएपछि त्यहाँबाट माथि बढ्दैन र यो सीमा दशकअघि एक्यूआई सुरु गर्दा नै तोकिएको थियो ।

किन ५०० को सीमा बनाइयो ?
एसएएफएआरका संस्थापक निर्देशक गुफरान बेग भन्छन्, “त्यो समयमा ५०० भन्दा माथि पुगे पनि स्वास्थ्यमा पर्ने असर उस्तै रहने मानिन्थ्यो । किनभने त्योभन्दा माथि भनेको सबैभन्दा खराब स्तर नै हो । त्यसैले ५०० माथि मापन देखाएर अनावश्यक आतंकित पार्न नदिने सोच थियो ।”

तर, यसले तथ्यांकलाई कृत्रिमरूपमा स्थिर बनाइदिन्छ । ५०० मा ठोक्किएपछि वास्तविक प्रदूषण स्तर ६००, ७०० वा १००० जे भए पनि आधिकारिक मापन एउटै रहन्छ ।

बेग भन्छन्, “अन्तर्राष्ट्रिय संस्था र प्लेटफर्महरूले यस्तो सीमा राख्दैनन् । त्यसैले तिनीहरूले देखाउने प्रदूषण स्तर धेरैजसो भारतका सरकारी मापनभन्दा बढी देखिन्छ ।”

भारतीय र अन्तर्राष्ट्रिय मापन किन फरक ?
कुन प्रदूषणलाई 'हानिकारक' मान्ने भन्ने परिभाषा पनि फरक छ । डब्यूएचओले पीएम २.५ को २४–घण्टे सुरक्षित सीमा १५ माइक्रोग्राम/क्युबिक मिटर तोकेको छ । भारतमा यही सीमा ६० माइक्रोग्राम छ, जुन डब्यूएचओको भन्दा चार गुणा बढी हो । विज्ञहरूका अनुसार, विश्वव्यापीरूपमा एउटै सार्वभौमिक एक्यूआई सुत्र छैन ।

अमेरिका, चीन, युरोपेली देश सबैले आफ्नै वातावरण र अनुकूलताका आधारमा मापदण्ड बनाएका छन् ।

बेग भन्छन्, “एक्यूआईले दिशानिर्देशमात्र दिन्छ । प्रत्येक देशले आफ्नो वातावरण, मौसम र क्षमता हेरेर सूचकांक बनाउँछ । त्यसैले भारतको एक्यूआईलाई अमेरिकी वा डब्यूएचओको मानकसँग सिधा तुलना गर्नु सही हुँदैन ।”

भारतले प्रयोग गर्ने बीएएम (बेटा एटेनुसन मोनिटर)ले कणहरूको मात्रा भौतिकरूपमा मापन गर्छ र कडा मानकअनुसार क्यालिब्रेट गरिन्छ ।

आईक्यूएयर जस्ता प्लेटफर्मले सेन्सर–आधारित मोनिटर प्रयोग गर्छन्, जसले लेजर स्क्याटरिङ र इलेक्ट्रो–केमिकल विधिबाट अनुमान गर्छ ।

पूर्व सीपीसीबी वैज्ञानिक अभिजित पाठक भन्छन्, “सेन्सरहरू धेरै संवेदनशील हुन्छन् र हरेक रिडिङ क्यालिब्रेट गर्न सकिँदैन । त्यसैले यिनको डेटा सरकारद्वारा आधिकारिकरूपमा मान्यता प्राप्त छैन ।”

उनका अनुसार, भारतको एक्यूआई ढाँचा २००९ पछि व्यापकरूपमा सुधारिएको छैन । वैज्ञानिकहरूले नयाँ प्रविधिअनुसार मापदण्ड पुनः क्यालिब्रेट गर्नुपर्ने माग गर्दै आएका छन् ।

बेग भन्छन्, “अब उपलब्ध वैज्ञानिक अध्ययनहरू के देखाउँछन् भने प्रदूषण बढ्दै जाँदा स्वास्थ्यका असरहरू पनि निरन्तर बढ्दै जान्छन् । त्यसैले ५०० माथि नदेखाउनु वैज्ञानिकरूपमा तर्कसंगत छैन ।”

अन्ततः, भारतको एक्यूआई ५०० मा रोकिन्छ किनभने हावा त्यहीँ रोकिन्छ भनेर होइन, यो प्रणाली नै ५०० मा रोकिने गरी बनाइएको हो ।

बीबीसीबाट ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्