काठमाडौं । मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएका छन् । मधेस सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरू मधेस भवनअगाडि धर्नामा बसेका छन् । उनीहरू नेपालको राष्ट्रिय झन्डा बोकेर धर्नामा बसेका छन् ।
प्रदेशसभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए । उनले सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा हुने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्चको फैसलालाई आफूहरूले सम्मान गर्ने बताए । त्यसपछि सातदलीय गठबन्धनमा छलफल गरी आन्दोलनको स्वरूपबारे छलफल गर्ने उनको भनाइ छ ।
– न्युज एजेन्सी नेपालबाट ।