काठमाडौं । बिहार चुनावको नतिजाले भारतको विपक्षी ‘इन्डिया’ गठबन्धनमा असमझदारी बढेको छ । ‘इन्डिया’ गठबन्धनका साझेदार पार्टीहरूबीच महाराष्ट्रदेखि बंगालसम्म चर्को आरोप–प्रत्यारोप बढेको छ ।
महाराष्ट्र राज्यमा ‘इन्डिया’ गठबन्धनभित्रको ‘महाविकास अघाडी’ गठबन्धनभित्र सहयोगी दलहरूबीच तनाव बढेको छ । शिवसेना (उद्धव गुट) र कांग्रेसका नेताहरूले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । शिवसेना (उद्धव गुट)का नेता अन्बादास दानवेले बिहारमा इन्डिया ब्लकको हारको जिम्मेवारी गठबन्धनभित्रकै झगडा र ढिलासुस्तीलाई दिएका छन् । उनले भने, “तेजस्वी यादवलाई मुख्यमन्त्रीको उमेदवार घोषित गर्नमा भएको हिचकिचाहट र सिट बाँडफाँटमा लागेको लामो समयले गठबन्धनलाई चुनावमा ठूलो क्षति पुर्यायो ।”
उनले राहुल गान्धी र तेजस्वी यादवको यात्रालाई जनताको जबरदस्त समर्थन मिलिरहेको बेलामै तेजस्वीलाई मुख्यमन्त्री उमेदवार घोषित गरिनुपर्ने बताएका छन् ।
दानवेले महाराष्ट्रसँग तुलना गर्दै भने, “यदि महाराष्ट्रमा पनि उद्धव ठाकरेलाई चाँडै मुख्यमन्त्री उमेदवार घोषित गरिएको भए र सिट बाँडफाँट सजिलो भएको भए, विधानसभा चुनावको नतिजा फरक हुन्थ्यो ।”
यसमा कांग्रेस नेता अतुल लोन्ढेले प्रत्युत्तर दिँदै दानवेका आरोप अस्वीकार गरेका छन् । लोन्ढेले भने, “बिहारको नतिजा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको जित हो, नीतिश कुमारको होइन ।”
उनले शिवसेना (उद्धव गुट) माथि टिप्पणी गर्दै भने, “उनीहरूले आफूले लडेका धेरै विधानसभा सिटहरूमा त जमानतसम्म जफत भएको हेर्नुपर्छ ।”
लोन्ढेले गठबन्धनभित्र एकअर्कालाई दोष नलगाई ‘भोट चोरी’ जस्ता मूल मुद्दाहरूमा ध्यान दिनुपर्ने सल्लाह दिए ।
यसैबीच मुम्बईमा हुने बृहतमुम्बई महानगरपालिका (बीएमसी) चुनावमा कांग्रेसले एक्लै लड्ने संकेत दिएको छ । महाराष्ट्रमा स्थानीय निकायको चुनाव २ डिसेम्बरमा हुने तय छ ।
कांग्रेस नेता रमेश चेन्निथलाले यसको घोषणा गर्दै भने, “हामीले यो निर्णय प्रदेश समिति र स्थानीयस्तरमा छोडेका छौँ । मुम्बई कांग्रेस समितिले अब यो चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।”
केही हप्तादेखि मुम्बई कांग्रेसका प्रभावशाली नेताहरू एक्लै चुनाव लडेर आफ्नो संगठनात्मक शक्ति पुनर्निर्माण गर्न पार्टी नेतृत्वमाथि दबाब दिँदै आएका थिए ।
यसैबीच, शिवसेना (यूबीटी) र महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)बीच बढ्दो नजिकले कांग्रेसलाई चिन्तित बनाएको छ । पार्टीलाई यदि एमएनएस महाविकास अघाडीमा सामेल भएमा, कांग्रेसको परम्परागत उत्तर भारतीय र अल्पसंख्यक मतदाता समुदायमाथि असर पर्न सक्ने डर रहेको बताइएको छ ।
मुम्बई कांग्रेस इकाईकी अध्यक्ष गायकवाडले पार्टी कार्यकर्तालाई ‘बीएमसीमा कांग्रेसको झन्डा फहराउने’ संकल्प लिन आग्रह गरिन् । उनले भनिन्, “हामीले कांग्रेस पार्षदहरूको निर्वाचन सुनिश्चित गर्नुपर्छ । सबै २२७ सिटको लागि तयारी गर्नुपर्छ ।”
यसैबीच पश्चिम बंगाल राज्यको सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी)का नेता कुणाल घोषले शनिबार भने, “बिहार चुनावको नतिजापछि कांग्रेसले आत्ममन्थन गर्नुपर्छ, किनभने यो पार्टी लगातार असफल हुँदैछ । महाराष्ट्र, दिल्ली र हरियाणापछि अब बिहारमा पनि उनीहरूको हार भयो । जताततै कांग्रेसले भाजपालाई रोक्ने जिम्मेवारी लिएको छ, तर सतहमा उनीहरू असफल नै भएका छन् ।”
घोषले टीएमसीको प्रदर्शनको प्रशंसा गर्दै थपे, “यदि कुनै पार्टीलाई लगातार सफलता मिलिरहेको छ भने त्यो बंगालमा ममता बनर्जी हुन् । २०२१ को विधानसभा चुनाव, २०२३ को पञ्चायत चुनाव र २०२४ को लोकसभा चुनाव सबैमा बंगालमा भाजपाको सांसद संख्या घटेको छ, जबकि टीएमसीको सांसद संख्या बढेको छ ।”
उनले थपे, “ममता बनर्जी देशकै सबैभन्दा लोकप्रिय नेतामध्ये एक हुन् । कांग्रेसले उनीहरूको नेतृत्व किन लगातार असफल हुँदैछ भन्ने सोच्नुपर्ने बताए । कांग्रेस आफैँ जित्न सक्दैन, अनि जुन–जुन राज्यमा जुन पार्टीसँग गठबन्धन गर्छ, त्यसलाई पनि कमजोर बनाइरहेको छ । कांग्रेसले ‘इन्डिया’ ब्लकको नेतृत्व कसले गर्नुपर्छ भनेर पुनर्विचार गर्नुपर्छ । अब सबैलाई देखिसक्यौन्, भाजपालाई हराउन सक्ने नेता ममता बनर्जी नै हुन् ।” एजेन्सीको सहयोगमा