काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा ‘कल्पित’को नेतृत्वमा दल दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ । उक्त अभियानका संयोजक विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् । प्रसाईं पार्टीमा संरक्षकका रूपमा रहने खतिवडाले बताएका छन् ।
पार्टीको नाम ‘नागरिक बचाउ दल, नेपाल’ राखिएको छ । चुनाव चिह्नमा दुई पाइला प्रस्ताव गरिएको छ । पार्टीको लक्ष्य विगतको अभियान अर्थात् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउनु छ ।
सनातन हिन्दुराष्ट्रको लक्ष्य लिइएको पार्टीको उद्देश्य राजतन्त्र फर्काउने छ । यस्तोमा चुनाव चिह्नका निम्ति रोजिएको दुई पाइलाको अर्थ के हो त ?
प्रस्तावित पार्टी सभापति कल्पित दुई पाइलालाई राम वनवास गएका बेलाको खराउसँग तुलना गर्छन् । बलिको घमण्ड तोड्न भगवान् विष्णुले वामन रूप लिएको पनि उनले बताए ।
त्यसो भए नागरिक बचाउ दलको चुनाव चिह्न राजाको पाइला हो ? जवाफमा कल्पितले राजा विष्णुको अवतार भएको र सनातन हिन्दुराष्ट्रको लक्ष्य राजतन्त्र फर्काउने नै रहेको स्वीकार गरे । तर, जनता बचाउने उद्देश्य राखिएको उनले बताए । त्यसैले यसलाई जनताकै पाइला भन्न उनले आग्रह गरे ।
“हाम्रो पार्टीको लक्ष्य सनातन हिन्दुराष्ट्र स्थापना हो । राजा विष्णुको अवतार पनि मानिन्छ, हाम्रो पार्टीले मत पाउँदा सनातन हिन्दुराष्ट्रको स्थापना राजासहितको हुने हो,” सभापति कल्पितले बाह्रखरीसँग भने, “तर, यो पार्टीको स्थापना धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक बचाउका लागि भएकाले यसलाई जनताकै पाइला भनौँ अहिलेलाई ।”
उनले आफ्नो पार्टी ‘कन्जरभेटिभ’ भएको बताए । “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकको बचाउका लागि गठन भएको पार्टी हो । यसलाई तपाईंहरूले कुन धारको पार्टी भन्नुहुन्छ भन्नुहोस्,” उनले भने ।
कल्पितको नेतृत्वमा गठित ‘नागरिक बचाउ दल, नेपाल’को संरक्षकमा प्रसाईं र २९ जना संस्थापक छन् ।