काठमाडौं । प्रशान्त किशोरको ‘जन सुराज’ पार्टीले विश्व बैंक कोषको रकम बाँडेर एनडीए गठबन्धनले बिहार चुनाव जितेको आरोप लगाएको छ ।
विकास परियोजनाहरूका लागि सुरक्षित गरिएको १४ हजार करोड रुपैयाँ बराबरको विश्व बैंक कोषको पैसा बिहार विधानसभा चुनावअघि महिलाहरूलाई १० हजार रुपैयाँ नगद सहायता उपलब्ध गराउन डाइभर्ट गरिएको आरोप लगाएको हो ।
उक्त दलले सोही पैसाका कारण हालै सम्पन्न भएको चुनावमा असर पारेको र एनडीए गठबन्धनले चुनाव जितेको आरोप लगाएको छ । सो दलले यो कदमलाई पब्लिक फण्डको स्पष्ट दुरुपयोग र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्ने अनैतिक प्रयास बताउँदै पूर्ण अनुसन्धानको माग गरेको छ ।
चुनावअघि नीतिश कुमार सरकारले मुख्यमन्त्री महिला रोजगार योजनाअन्तर्गत १.२५ करोड महिला मतदाताको खातामा १० हजार रुपैयाँ सहायता रकम वितरण गरेको थियो । विश्लेषकहरूका अनुसार, यसले एनडीएलाई सत्तामा रहन ठूलो भूमिका खेलेको छ ।
जन सुराज पार्टीका राष्ट्रिय अध्यक्ष उदय सिंहले शनिबार एक प्रेस सम्मेलनमा भने, “यस चुनावको नतिजा असलमा किनिएको हो । २१ जुनदेखि मतदानसम्म यो जनादेश सुरक्षित गर्न लगभग ४० हजार करोड रुपैयाँ खर्च गरिएको थियो । सार्वजनिक कोष प्रयोग गरेर उनीहरूले मत किनेका हुन् । उक्त नगद स्थानान्तरणको लागि विश्व बैंकबाट प्राप्त कोष प्रयोग गरिएको मैले पनि थाहा पाएको छु ।”
उनले बिहारको अर्थतन्त्र यति ठूलो रकम फिर्ता गर्न सक्षम नभएको र सरकार बनेपछि जनकल्याणमा खर्च गर्न लगभग कुनै पनि पैसा बाँकी नभएको दाबी गरे । जन सुराजका प्रवक्ता पवन वर्माले सोही आरोपलाई दोहोर्याउँदै राज्यको राजश्व अब खाली भएको बताए ।
उनले भने, “हामीसँग के जानकारी छ भने, राज्यका महिलालाई दिइएको १० हजार रुपैयाँको रकम २१ हजार करोड रुपैयाँबाट दिइएको हो, जुन विश्व बैंकबाट अर्को परियोजनाका लागि आएको थियो । चुनावको आचारसंहिता लागू हुनुको १ घण्टा अघि, १४ हजार करोड रुपैयाँ निकालेर राज्यका १.२५ करोड महिलालाई वितरण गरिएको थियो ।”
उनले थपे, “यदि यो सत्य हो भने, यसको नैतिक पक्षमा प्रश्न उठ्छ । कानुनी रूपमा हामी केही गर्न सक्दैनौँ । सरकारले कोष डाइभर्ट गर्न सक्छ र पछि स्पष्टीकरण दिन सक्छ । स्पष्टीकरण चुनावपछि आउनेछ । पश्चिम बंगाल, तमिलनाडु र अन्य भाजपा–शासित राज्यहरूमा आगामी चुनावहरू छन् । यस्तो कदमले मतदातालाई फरक तरिकाले प्रभावित गर्नेछ ।”
वर्माले बिहारको सार्वजनिक ऋण अहिले ४.०६ लाख करोड रुपैयाँ पुगेको र यसको दैनिक ब्याज भार ६३ करोड रुपैयाँ रहेको बताउँदै भने, “राज्यको ढुकुटी खाली भएको छ ।”
निर्वाचन रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले स्थापना गरेको नयाँ जन सुराज पार्टीले २०२५ को बिहार विधानसभा चुनावमा ठूलो असफलता व्यहोरेको छ । २३८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरे तापनि उनीहरू एक सीट पनि जित्न असफल भए ।
यसैबीच, एनडीएले २०२ सीटमा जित हासिल गर्दै चुनावमा ठूलो बहुमत प्राप्त गर्यो । भाजपा ८९ सीटसहित सबैभन्दा ठूलो दल बनेको छ, जसपछि जेडी (यू) ले ८५ सीट जित्यो ।
यसको विपरीत, आरजेडी नेतृत्वको महागठबन्धनले ठूलो हार बेहोरेको छ, जहाँ आरजेडीले मात्र २५ सीट जितेर आफ्नो सबैभन्दा कमजोर निर्वाचन प्रदर्शन गर्यो । कांग्रेस भने ६ सीटमा सीमित भयो ।