काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने बताएका छन् ।
कर दिवसको अवसरमा सोमबार (मंसिर १) आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले आम नागरिकको विकासको चाहना पूरा गर्न सके समाजमा आफैँ शान्ति कायम हुने बताए । समाजमा कसैले आफू पाखा पारिएको छु भन्ने महसुस हुन दिनु नहुने उनले बताए ।
राज्यले सामाजिक सुरक्षासहित विकासमा पहुँच र आर्थिक अवसर उपलब्ध गराएको छ भन्ने धारणा निर्माण हुनुपर्ने उनको भनाइ छ । नागरिकले यस्तो अनुभुति गर्न पाए मात्र सरकार वा निजी क्षेत्रप्रति विद्रोह उत्पन्न नहुने उनले बताए ।
"सरकारले मलाई सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ । विकासमा पहुँच दिएर हेरेको छ । आर्थिक अवसर सिर्जना गरेर हेरेको छ भन्ने धारणा निमार्ण भयो भने नागरिक सरकारप्रति वा व्यवसायीप्रति विद्रोही भएर आउँदैनन्," खनालले भने ।
राजनीतिक क्षेत्रदेखि समाजसम्म अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र रोजगारीको अभाव तथा पलायनको पीडाले मानिस विद्रोही बन्दै गएको खनालको भनाइ छ ।
"विभिन्न प्रकारका असन्तुष्टि राजनैतिक वृत, समाजमा पनि अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र मानिस पलायन हुनुको पीडा व्यक्त गर्ने क्रममा मानिसहरू विद्रोही हुन पुगेका हुन् । जसकारण हामीले क्षति व्यहोर्नुपर्यो," खनालले भने ।
समाजमा कहिलेकाहीँ मानिसहरू बरालिन सक्ने वा विभिन्न कारणले विद्रोहमा उत्रन सक्ने भएकाले सुरक्षा आवश्यक हुने उनले बताए । तर, दीर्घकालीन शान्ति र व्यावसायिक वातावरणका लागि सदाचार, अनुशासन र सुशासन अत्यावश्यक भएको उनको भनाइ छ ।
"समाजमा कतिपय अवस्थामा मानिसहरू बरालिएर र अरु कुनै कारणले विद्रोही हुन पुग्छन् । त्यसलाई नियन्त्रण गर्नका निमित्त सुरक्षा आवश्यक छ," मन्त्री खनालले भने, "तर, समाजमा सबैभन्दा ठूलो कुरा सदाचार, अनुशासन, सुशासन कायम हुन सक्यो भने त्यसले शान्ति कायम गर्दै व्यवसायी वातावरण कायम गर्न सहयोग पुर्याउँछ ।"
निजी क्षेत्रले संकटका बाबजुत पनि पुनः उठ्ने मनोबल राख्नु सकारात्मक रहेको बताए । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
"सबैभन्दा महत्त्वपूर्ण कुरा 'जेनजी'हरूले जुन माग गरेका छन्, सुशासन कायम गर्न सकियो, भ्रष्टाचार न्यूनीकरण गर्न सकियो भने त्यसले दिने जत्तिको सुरक्षा अरु कुनै पनि हुन सक्दैन," मन्त्री खनालले भने, "यदी आम नागरिकले समाजमा न्यायपूर्ण तरिकाबाट शासन गरिएको छ, उद्योगी व्यवसायीले सही तरिकाले व्यवसाय गरेका छन्, सरकारका निकायहरूले इमान्दारपूर्वक काम गरेका छन् र नागरिकलाई दुख दिने काम गरेका छैनन् भने त्यो भन्दा ठूलो शान्तिको अस्त्र केही हुने छैन ।" न्युज एजेन्सी नेपाल