site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचनको वातावरण बनाउन सबैको सहमति आवश्यक : प्रचण्ड
प्रचण्ड । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताएका छन् । सबै राजनीतिक दलको सहमति भए निर्वाचनको वातावरण बन्ने उनले बताएका हुन् ।

सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताका साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा उनले जोड दिए । उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्ने बताए ।

“सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ,” उनले न्युज एजेन्सी नेपालसँग भने, “समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।”

उनले पार्टीको जिम्मेवारी बाँडफाँट मंगलबार (मंसिर २)को बैठकबाट टुंग्याइने जानकारी दिए । जिम्मेवारी बाँडफाँट र एकताको सन्देश समानान्तर रूपमा लैजाने समझदारी भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्