site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलितसम्बन्धी विधेयक जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । दलितसम्बन्धी विधेयक जारी गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । नेपालको संविधानको धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा सोमबार राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफल भएको हो । 

छलफलपछि समितिले संवैधानिक प्रावधानहरूलाई कार्यान्वयन गर्नका लागि उक्त विधेयक जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति कमलादेवी पन्तले दलित समुदायको हक अधिकारको कार्यान्वयन एवं दलित विकासका लागि संविधानको धारा ४० अन्तर्गतको प्रावधानलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी व्यवस्थाका लागि सोसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा पेस गर्न नेपाल सरकारलाई निर्देशन दिइन् । उनले दलित प्राधिकरण बनाउन समेत सरकारलाई निर्देशन दिएकी हुन् । 

समिति सभापति पन्तले समितिका निर्णय सुनाउँदै भनिन्, "दलित समुदायको हक अधिकारको कार्यान्वयन एवं दलित विकासका लागि संविधानको धारा ४० अन्तर्गतको प्रावधानलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी व्यवस्थाका लागि सोसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्मा पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने । दलित विकासका लागि चालु आर्थिक वर्षका कार्यक्रम तथा बजेट पुनरवलोकन गरी कार्यान्वयनमा ल्याउन दलित विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिने ।"

प्राधिकरणको व्यवस्थालाई अहिले नै कार्यान्वयनमा ल्याए संवैधानिक व्यवस्था कार्यान्वयनमा सहज हुने सभापति पन्तको भनाइ छ । दलितसम्बन्धी कानुन राष्ट्रियसभामा पेस गरे कानुन निर्माणले गति लिने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्