काठमाडौं । भारतले आफ्ना पूर्वोत्तर राज्यहरूलाई मुख्य भू–भागसँग जोड्ने सिलिगुडी कोरिडोरमा सैन्य उपस्थिति बढाएको छ । यो क्षेत्रलाई ‘चिकन्स नेक’ भनेर चिनिन्छ ।
यो कदम बंगलादेशसँगको सम्बन्धमा चलिरहेको तनाव र बंगलादेशले पाकिस्तानसँग बढाइरहेको नजिकको बीचमा आएको हो ।
सिलिगुडी कोरिडोर भनिने यो २२ किलोमिटर चौडा भूभाग नेपाल, भुटान, बंगलादेश र चीनबीचमा अवस्थित छ । यो भारतको एक संवेदनशील भू–राजनीतिक चोकपोइन्ट मानिन्छ ।
यो हप्ता आएका सञ्चार माध्यमहरूका खबरहरू अनुसार, भारतीय सेनाले बंगलादेश सीमानानजिकै सिलिगुडी कोरिडोरमा तीनवटा पूर्ण रूपमा सञ्चालनमा रहेका ग्यारिसनहरू स्थापना (सैन्य टुकडी जम्मा) गरेर आफ्नो पूर्वी सीमामा सैन्य क्षमता बढाएको छ ।
सीमा क्षेत्रबाट रिपोर्ट गर्ने डीडब्ल्यूका सीमान्तक घोषका अनुसार, भारतीय अधिकारीहरू नयाँ सैन्य विकासक्रमबारे चुपचाप रहे पनि सेनाको व्यापक स्थानान्तरण र क्षमता बढाउने काम भइरहेको देखिएको छ ।
बंगलादेशसँगको सीमामा भारतीय सैन्य उपस्थिति बढेको यो समयमा, अगस्ट २०२४ मा बंगलादेशी नेता शेख हसिना सत्ताच्युत भएर भारत पलायन गरेपछि दुई दक्षिण एसियाली छिमेकी देशबीचको सम्बन्ध बिग्रिएको छ ।
हसिनाको १५ वर्षे शासनकालमा बंगलादेश र भारतबीच अपेक्षाकृत स्थिर सम्बन्ध कायम रहेको थियो । हसिना भारत पलायनपछि गठन भएको ढाकाको अन्तरिम सरकार नयाँ दिल्लीप्रति त्यति मित्रवत सम्बन्ध छैन ।
नयाँदिल्लीस्थित थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसनको स्ट्राटेजिक स्टडिज प्रोग्रामका प्रमुख हर्ष वी. पन्तले डीडब्ल्यूलाई भने, “बंगलादेशमा बढ्दो भारतविरोधी भावना र युनुस सरकार नयाँदिल्लीप्रति अनुकूल नभएको संकेतको सन्दर्भमा यो कदम आएको हो ।”
नयाँ सैनिक टुकडी तैनाथीको खबरसँगै, भारतीय वायु सेनाले नोभेम्बर ९ मा आसाम राज्यमा हालसम्मकै सबैभन्दा ठूलो हवाई प्रदर्शन गरेको थियो । यो नोभेम्बर २० सम्म चल्ने पूर्वोत्तर भारतमा सात दिने ठूलो मात्राको वायुसेना अभ्यासको अगाडि आएको हो ।
यो सबै कुरा पाकिस्तानी नौसेना प्रमुखको ढाका भ्रमण र सन् १९७१ को स्वतन्त्रता युद्धपछि पहिलो पटक बंगलादेशको तटमा एउटा पाकिस्तानी युद्धपोत पुगेको घटनासँग मेल खाने बताइएको छ ।
पन्तले भारतले सैन्य अभ्यासहरूमार्फत लगातार संकेत दिँदै आएको बताउँदै भने, “यस क्षेत्रमा आफूलाई आइपरेका चुनौतीहरूप्रति अवगत छ भन्ने देखाउँछ ।” तर उनको विचारमा हवाई प्रदर्शन कुनै विशेष लक्ष्यमा केन्द्रित थिएन ।
भारतका सेवानिवृत्त लेफ्टिनेन्ट जेनरल उत्पल भट्टाचार्यले पनि यस्तै दृष्टिकोण सेयर गरे । उनले डीडब्ल्यूलाई भने, “कहिलेकाहीँ यी नियमित अभ्यास हुन्छन्, कहिलेकाहीँ सामरिक संकेत । विश्वास खसेमा आजको साथी भोलिको विपक्षी बन्न सक्छ ।”
यद्यपि, पन्तले क्षेत्रमा भारतका सैन्य कदमहरू रक्षात्मक देखिने र यिनलाई द्वन्द्वको खोजी भनेर नहेरिनु पर्ने बताए । तर, बंगलादेशको अन्तरिम सरकारबाट आएका उत्तेजक वक्तव्यहरूका कारण तनाव थप बढ्न सक्ने चेतावनी भने दिए ।
पन्तले मार्चमा युनुसले गरेको टिप्पणीलाई जनाउँदै यसमा उनले भारतका पूर्वोत्तर राज्यहरूलाई चिकेन्स नेक भनेका थिए र सो क्षेत्रका लागि समुद्रमा पहुँचको एकमात्र ढोका बंगलादेशलाई बताएका थिए ।
ढाकाले युनुसको भारतको पूर्वोत्तर क्षेत्रको बारेको टिप्पणी क्षेत्रीय जडानको सम्भावनालाई जोड दिने उद्देश्यले गरिएको भन्दै दाबी गरेको छ । तथापि, क्षेत्रको भू–राजनीतिक संवेदनशीलताका कारण यो टिप्पणी नयाँ दिल्लीलाई राम्रो लागेको छैन ।
दुवै सरकारहरूले हालका सैन्य विकासक्रमबारे चुप रहेका छन् । डीडब्ल्यूको टिप्पणी गर्न गरेकोे अनुरोधलाई अस्वीकार गरेका छन् ।