काठमाडौ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादको पक्ष र विपक्षमा फरक-फरक प्रदर्शन भएका छन् ।
नेपाली कांग्रेसलगायतका सात दलले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि त्यसविरुद्ध प्रदर्शन गरिरहेका छन् । त्यसलाई काउन्टर दिँदै नेकपा (एमाले) ले यादवलाई काम गर्न दिनुपर्ने भन्दै उनको पक्षमा प्रदर्शन गरेको छ ।
यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिटसमेत दिएका थिए । यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको छ ।
सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको सात राजनीतिक दलले मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौँ दिन पनि आन्दोलनको जारी राखेका हुन् ।
सात दलले मंगलबार ९औँ दिन जनकपुरधाममा धर्ना जारी राखेका छन् । धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए । मधेसमा राजनीतिक अस्थिरताको अन्त्यका लागि आफूहरूले ९औँ दिन पनि आन्दोलन जारी राखेको उनको भनाइ छ ।
मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले आन्दोलन थालेको हुन् । नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।
एमाले पनि प्रदर्शनमा
उता मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा उनका समर्थकहरू पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरू धर्नामा बसेको हुन् । जनकपुरको जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन् ।
संविधानको रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।
सर्वोच्चमा मुख्यमन्त्री नियुक्तिको विवादसम्बन्धी रिटको सुनुवाइ जारी रहेको बेला पनि धर्ना तथा आन्दोलन गरेर सात दलीय गठबन्धनले अवरोध सिर्जना गरिरहेको मुख्यमन्त्री यादवका समर्थकहरूको भनाइ छ । न्युज एजेन्सी नेपाल