काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्प्युटर विकासक्रमको जेनेरेसनलाई मान्छेको जेनेरसनसँग जोडेर गलत धारणा निर्माण गरिएको दाबी गरेका छन् । मंगलबार (मंसिर २) च्यासलमा विघटित संसदीय दलको बैठकमा उनले जेनजी भनेर गलत भाष्य बनाइएको दाबी गरेका हुन् ।
“जेनजी भन्ने एउटा भ्रान्त धारणा व्याप्त गरियो । जेनजी कम्युटरको विकासक्रमको एउटा अवधिको कुरा गरिएको हो,” ओलीले भने, “१९९७ देखि २०१२ सम्मको अवधिलाई जेनेरेसन जेड भनियो ।”
ओलीले थपे, “यो मान्छेको जेनेरेसनसँग कुनै तालुक नै राख्दैन । यन्त्रको विकासक्रमको कुरा हो ।”
उनले मान्छेको जेनेरेसनको सामाजिक विकासको कुराले नाप्न सकिने बताए । “कम्युटरको जेनेरेसनलाई मानवको जेनेरेसनको रूपमा जेनजी भनेर गलत शब्दावली विश्वव्यापी रूपमा प्रयोग गर्ने र हुँडलो मच्चाउनका लागि विद्यार्थीलाई अगाडि बढाउने, ढाल बनाउने र उनीहरूलाई दुरुपयोग गर्ने,” ओली भन्छन् ।