काठमाडौं । चीनले जापानबाट आयात गरिने सी–फुड आयात बन्द गर्ने निर्णय गरेको छ । यो कदम चीन र जापानबीच ताइवान मुद्दामा चलिरहेको तनावको बीचमा लिइएको बताइएको छ ।
एसियाका दुई ठूला अर्थतन्त्रहरूबीच कूटनीतिक विवाद बढ्दै जाँदा चीनले जापानबाट हुने सबै प्रकारका समुद्री खाद्य वस्तु (सी–फुड)को आयातमा प्रतिबन्ध लगाउने टोकियोलाई जानकारी दिएको क्योदो समाचार समिति र एनएचकेले बुधबार बताएका छन् ।
जापानकी नवनिर्वाचित प्रधानमन्त्री सनाए ताकाइचीले नोभेम्बर ७ मा यदि ताइवानमाथि हमला भएमा जापान पनि ताइवानको पक्षमा सैन्य कारबाहीमा सहभागी हुनसक्ने भनेकी थिइन् । ताइवानलाई आफ्नो अविभाज्य अंग मान्ने चीन यो भनाइबाट असन्तुष्ट छ ।
गएको हप्ता मात्रै चीनले जापानी राजदूतलाई बोलाएर यात्रुहरूलाई जापान भ्रमण गर्दा सावधान रहन चेतावनी दिएको थियो । जापानमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीलाई पनि सचेत रहन आग्रह गरेको थियो । द जाकर्ता पोस्ट ।