काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पुराना उमेदवारहरूसँग छलफल गर्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज (मंसिर ४) दिउँसो १ बजेदेखि छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
उनले बाह्रखरीसित भने, “यसअघिको निर्वाचनका पुराना उमेदवारहरूको राय बुझ्न आज हामीले छलफल गर्दै छौँ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै छ, हामीले सबैको राय बुझेर अगाडि बढ्ने हो ।”
आउँदो फागुन २१ गतेका निम्ति तोकिएको आवधिक निर्वाचनको तयारीस्वरूप छलफल गर्न लागिएको रास्वपाले जनाएको छ ।
विभिन्न क्षेत्रसँग जोडिएका व्यक्तिहरूलाई रास्वपाले यस दिन पार्टी प्रवेश गराउँदै छ । डाक्टर, इन्जिनियर, नर्सिङ क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउन लागेको प्रवक्ता झाले बताए ।
पार्टी प्रवेश कार्यक्रम अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा नै राखिएको उनले जानकारी दिए ।