site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प प्रशासनको युक्रेन शान्ति योजनामा सहकार्य गर्न जेलेन्स्की तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न ल्याइएको ट्रम्प प्रशासनको युुक्रेन शान्ति योजनामा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
 
उक्त योजनामा रुसले कब्जा गरेका केही युक्रेनी भूभागलाई रूसलाई सुम्पने प्रस्ताव पनि समावेश छ । तर, जेलेन्स्कीले यसलाई सीधै अस्वीकार गर्नुको सट्टा वार्तामा बस्ने संकेत गरेका छन् । जेलेन्स्कीको कार्यालयका अनुसार, आगामी दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यो विषयमा छलफल हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।

युक्रेनी अधिकारीका अनुसार अमेरिकी दूत तथा अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कलले जेलेन्स्कीलाई योजनाको लिखित प्रतिलिपि हस्तान्तरण गरेका छन् । 

एक अमेरिकी अधिकारीका अनुसार, जेलेन्स्की र ड्रिस्कलले हस्ताक्षरका लागि आक्रामक समय तय गरेका छन् । जेलेन्स्कीको कार्यालयले एक विज्ञप्तिमार्फत राष्ट्रपतिले हाम्रो जनताका लागि महत्वपूर्ण आधारभूत सिद्धान्तहरू प्रस्तुत गरेका र आजको भेटपछि युद्धको न्यायोचित अन्त्य ल्याउन योजनाका प्रावधानहरूमा काम गर्न दुवै पक्ष सहमत भएका बताएको छ ।

तर, युक्रेनी अधिकारीका अनुसार, ड्रिस्कलसँगको भेटमा जेलेन्स्की अझै सहमति खोज्ने मनस्थितिमा देखिएका छन् । अधिकारीले भने, “शान्ति सम्भव बनाउन संयुक्तरूपमा काम गर्ने नै निर्णय हो ।”

बुधबार र बिहीवार अमेरिकाले युक्रेन र युरोपेली सहयोगीहरूलाई यो योजना परिवर्तनशील रहेको र उनीहरूको स्थिति पनि समेटिने आश्वासन दिएको थियो ।

एक अमेरिकी अधिकारीका अनुसार, ट्रम्पका रुसका दूत स्टिभ विटकफले बिहीबार बिहान जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको फोन वार्ता गर्दै यो योजना ‘विचारहरूको ढाँचा’ मात्र भएको बताउँदै यसमा युक्रेनी र रूसी दुवै पक्षको दृष्टिकोण समावेश रहेको बताए । उक्त अधिकारीका अनुसार, विटकफले ट्रम्प प्रशासन जिम्मेवार ढंगले युक्रेनको द्वन्द्व अन्त्य गर्ने उपाय खोजिरहेकोमा जोड दिए । एक्सिओस 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्