काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘अपरेसन सिन्दूर’का क्रममा भारत–पाकिस्तानबीचको द्वन्द्व रोक्न सफल भएको दाबी गर्दै आएका छन् । यही बेला नयाँ अमेरिकी रिपोर्टमा सन् २०२५ मेमा भएको सैन्य द्वन्द्वमा पाकिस्तानी सेनालाई ठूलो सफलता मिलेको जिकिर गरिएको छ ।
यूएस–चाइना इकोनोमिक एन्ड सिक्योरिटी रिभ्यु कमिसनले जारी गरेको उक्त रिपोर्टमा पाकिस्तानको ‘फर्जी’ जितको अत्यधिक प्रशंसा गरिएको उल्लेख छ । रिपोर्टमा पहलगाम आतंकवादी आक्रमणलाई ‘विद्रोही हमला’का रूपमा चित्रण गरिएको जनाइएको छ ।
८०० पृष्ठको रिपोर्टमा चीनको पनि धेरै प्रशंसा गरिएको गरिएको छ । सन् २०२५ मे ७ देखि १० सम्म भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा चीनको भूमिकाले विश्वव्यापी ध्यान खिचेको रिपोर्टमा उल्लेख छ । पाकिस्तान चिनियाँ हतियारमा निर्भर रहेको र चिनियाँ गुप्तचर जानकारीबाट फाइदा लिएको जिकिर गरिएको छ ।
रिपोर्टमा एक नेपालीसहित २६ नागरिकको ज्यान जाने गरी भएको पहलगाम ‘विद्रोही हमला’प्रति भारतले दिएको प्रतिक्रियाबाट उक्त द्वन्द्व सुरु भएको उल्लेख छ । त्यस अवधिमा दुवै देशले ५० वर्षमा पहिलोपटक एकार्काको क्षेत्रमा टाढासम्मका लक्ष्यमाथि आक्रमण गरेका जनाइएको छ ।
उक्त रिपोर्टमा पाकिस्तानको दाबी उद्धृत गर्दै ६ भारतीय लडाकु विमान खसालिएको उल्लेख छ । त्यसमा राफेल जेट पनि समावेश भएको जनाइएको छ । रिपोर्टमा तीन लडाकु विमान खसालिएको तथ्य पुष्टि भएको पनि उल्लेख छ ।
चार दिनसम्म चलेको उक्त द्वन्द्वमा पाकिस्तानले भारतविरुद्ध हासिल गरेको सैन्य सफलतामा चिनियाँ हतियारले प्रमुख भूमिका खेलेको जनाइएको छ ।
‘छद्म युद्ध’ भन्दै चीनको भूमिकालाई बढाइचढाइ गर्ने सम्भावना भए पनि बेइजिङले यसलाई आफ्ना हतियारको परीक्षण र प्रचारका निम्ति उपयोग गरेको दाबी गरिएको छ । भारतसँगको सीमा तनाव तथा चीनको बढ्दो रक्षा उद्योगका लक्ष्यसँग यो मेल खाने उल्लेख छ ।
भारतको प्रतिपक्ष दल कांग्रेस नेता जयराम रमेशले एक्समा रिपोर्ट सेयर गर्दै अमेरिकाले हालै आफ्नो वार्षिक प्रतिवेदन अमेरिकी कांग्रेसमा बुझाएको जनाएका छन् । उनले उक्त रिपोर्टमा चारदिने द्वन्द्वलाई भारतविरुद्ध ‘पाकिस्तानको सैन्य सफलता’का रूपमा प्रस्तुत गरिएको भन्दै यसलाई चकित पार्ने प्रकारको बताएका छन् ।
रमेशका अनुसार, ट्रम्पले हालसम्म करिब ६० पटक ‘अपरेसन सिन्दूर’ रोकेको दाबी गरेका भए पनि भारतीय प्रधानमन्त्री यो विषयमा मौन बसेका टिप्पणी गरिएको छ ।
कांग्रेस नेताले भारतका निम्ति यो रिपोर्ट अस्वीकार्य भनेका छन् । उनले उक्त रिपोर्टले भारतीय कूटनीतिलाई अर्को गम्भीर झट्का पुगेको बताएका छन् ।