अल्पायुमै प्रतिनिधिसभा विघटन गरी चुनावी मिति त घोषणा गरियो, तर समयमै चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका पनि व्याप्त छ । तैपनि निर्वाचन आयोग नयाँ दल दर्ता र चुनाव गृहकार्यमा व्यस्त छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समयमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्छन् । निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर भण्डारीसँग बाह्रखरीले गरेको कुराकानी :
–निर्वाचनको मिति नजिकिँदै छ, आयोगले तयारी कहाँ पुग्यो ?
निर्वाचनको पूर्वतयारी भनेको भौतिक सामाग्रीको व्यवस्थापन गर्नु हो । आयोगले त्यो काम गरिरहेको छ । सामग्री खरिदका प्रक्रिया अघि बढिसकेको छ । निर्वाचनको कार्यतालिका प्रकाशित भइसकेको छ । आयोगले तालिकाअनुरुप कामलाई तीव्रता दिएको छ ।
–यहाँहरूले त तयारी तीव्र बनाइरहनुभएको छ । बाहिरतिर चाहिँ समयमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल नै देखिन्छ नि !
हामी शतप्रतिशत ढुक्क छौं, समयमा नै निर्वाचन हुन्छ । हरेक निर्वाचनको अघि हुन्छ कि हुँदैन भन्ने प्रश्न झुन्डिरहन्छ । त्यो हाम्रो अनुभव पनि हो ।
यो निर्वाचनलाई अग्रिम वा आकस्मिक निर्वाचन भन्ने गरेको छु । ०८२ को भदाै २३–२४ को विद्रोह भन्यौं । इतिहासकार, संविधानविद्हरूले विश्लेषण गरिरहनुहोला । विद्रोहपछि जन्मेको सरकारको निष्ठा भनेको निर्वाचन हो ।
जसरी पनि निर्वाचन गरेर निर्वाचित प्रतिनिधिलाई सुम्पने र सुशासन प्रवाह गर्न सुरुवात गर्नेबाहेकको विकल्पमा बनेको सरकार होइन । विगतका आन्दोलनमा संविधान फालिएका थिए । हाल संविधान जीवित छ । संविधानको कल्पबाट उत्तर खोज्नुपर्छ । निर्वाचनको विकल्प छैन । संविधानको धारा उपधारामा खोजेर पाइँदैन । राष्ट्रपतिबाट संविधान संरक्षण गर्न निर्वाचन घोषण गरेपछि निर्वाचन गराउने आयोगको दायित्व हो । समयमै निर्वाचन हुन्छ ।
–सुरक्षा चुनौतीका कुरा पनि उठ्दै आएको छ । आयोगले यसलाई कसरी हेरेको छ ?
सरकार र सुरक्षा निकायका प्रमुखले सुरक्षा दिन हामी प्रतिबद्ध छौं, ढुक्क हुनुस् भन्नुभएको छ । सरकारले शान्ति सुरक्षाका विषयमा चिन्ता नलिनुस् भनेपछि हामी ढुक्क छौं । निर्वाचनमा सधैँ चुनौती हुन्छन् । आएका कतिपय कानुनी चुनौतीलाई गाँठो फुकाएर अघि बढेका छौं ।
–विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने भन्ने विषय कहाँ पुग्यो ?
सरकार पनि अध्ययन गरिरहेको छ, आयोग पनि अध्ययनमा छ । सरकारले स्रोत–साधन र शक्ति उपलब्ध गरायो भने आयोग तयार छ ।
–आयोगले आगामी दिनमा कस्ता काम गर्ने योजना बनाएको छ ?
आयोगले दैनिक कार्यतालिका बनाएको छ । कार्यतालिका अनुसार काम गर्छाैं । न्युन प्रकृतिका सामाग्री खरिद गर्छौंं । मतपेटिकासहितका सामाग्रीहरू खरिद गर्दैनौ । हामी पुराना सामाग्री धोइपखाली र डेन्टिङ–पेन्टिङ गरेर चलाउँछौं ।