site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले भने– युथ भोलेन्टियरसँग आत्तिन, तर्सन पर्दैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको युथ भोलेन्टियर फोर्स राष्ट्रको हितका निम्ति गठन गरिएको बताएका छन् । शुक्रबार (मंसिर ६) काठमाडौंमा नेसनल युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा उनले यसबाट कसैलाई नतर्सन आग्रह गरे ।

“यो सन्देशसँग नाखुस पनि कतिपय हुन सक्दछन् । यो स्वयंसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,” उनले भने ।

उनले अगाडि भने, “एमालेसँग अहमत राख्ने वा खुदै यो संगठनसँग असहमति राख्नेहरूको पनि जिउधन, अधिकारको रक्षा गर्ने कामका लागि यो गठन भएको हो । यसको अस्तित्व र विकाससँग कोही पनि आत्तिन पर्र्दैन, तर्सिन पर्र्दैन ।”

उनले शान्ति सुव्यवस्थाका निम्ति फोर्स गठन गरिएको जिकिर गरे । राज्यले मात्र शान्ति सुव्यवस्था दिने अवस्था नरहेको उनको भनाइ थियो ।

ओलीले जनता आफैँले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था रहेको बताए । उनले फोर्स हिंसा, तोडफोडविरुद्ध गठन गरिएको उल्लेख गरे ।

“कसैका विरुद्ध होइन । हिंसा, तोडफोडको विरुद्ध हो । शान्तिका पक्षमा हो,” उनले भने । 

ओलीले आतंक मच्चाउने छुट कसैलाई नभएको पनि बताए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्