काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङसहितको 'जेनजी' टोली वार्ताका लागि जिल्ला प्रशासन कार्यालय बारा जाँदै छ ।
सुधन पुगेपछि मधेस प्रदेश जेनजी टिम जिल्ला प्रशासन कार्यालय बारामा वार्ताका लागि जान लागेको हो । प्रशासनले ३ बजे बोलाएको वार्तामा ढिला गरी जाने मधेस प्रदेश संयोजक शिव यादवले जानकारी दिए ।
"सुधन गुरुङ र हामी अहिले सँगै छौँ । अबको केहीबेरमा घाइतेलाई भेटेर उहाँहरूका मागहरू सुन्छौँ । त्यसपछि प्रशासनसँग वार्ताका लागि जान्छौँ," यादवले भने ।
बुधबार नेकपा (एमाले) का कार्यकर्ता र जेनजीबीच सिमरामा झडप भएको थियो । जेनजीले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए । आफूहरूमाथि कुटपिट गरिएको भन्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए ।
त्यसपछि प्रशासनले तनावपूर्ण अवस्था अन्त्यका लागि बिहीबार (मंसिर ४) सम्बन्धित पक्षलाई वार्तामा बोलाएको थियो । तर, घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने अडानसहित जेनजी प्रतिनिधिहरू वार्तामा गएका थिएनन् । आफूहरूले दिएको उजुरीका आधारमा सबैलाई पक्राउ गर्नुपर्ने माग उनीहरूले राखेका थिए ।
त्यसयता घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, जेनजी प्रतिनिधिहरू आएपछि वार्ता सुरु हुनेछ । "उहाँहरू आउँदै हुनुहुन्छ । प्रशासनले ३ बजे छलफलका लागि बोलाएको हो," प्रजिअ मिश्रले भने ।
बुधबार र बिहीबार प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 'जेनजी'हरू कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा बिहीबार 'जेनजी' र प्रहरीबीच झडपसमेत भएको थियो ।