site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा पीडितको सन्तुष्टिमा ध्यान दिन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन उजुरीमाथिका सिफारिस कार्यान्वयन गर्न र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार (मंसिर ५) जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए तापनि द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको छ ।”

आयोगले विस्तृत शान्ति सम्झौता भएदेखि नै त्यसको कार्यान्वयन सम्बन्धमा अनुगमन गरी समय–समयमा प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आयोगमा दर्ता भएका द्वन्द्वकालीन उजुरीमाथि अनुसन्धान, निर्णय र सिफारिस गर्दै आएको छ ।

तर, आयोगको सिफारिसबमोजिम हालसम्म पनि मानव अधिकार उल्लंघनमा संलग्न दोषीमाथि कारबाही र पीडितलाई परिपूरणका कार्य पूरा नभएको जनाइएको छ ।

विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू घरदैलोमा पुग्न नसकेको, अझै पनि कतिपय पीडितका उजुरी दर्ता छुटेको, द्वन्द्वपीडितको विषयलाई आफ्नो स्वार्थ पूरा गर्ने विषय बनाइएको, यौनजन्य हिंसाको सवालमा गोपनीयताको आशंका देखिएको कारण कतिपयले उजुरी दर्ता नगराएको पनि उल्लेख छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्