काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान माम्दानीबीच शुक्रबार ह्वाइट हाउसमा पहिलो पटक भेटवार्ता भएको छ ।
ओभल अफिसमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्प र मेयर माम्दानी दुवैले भेटलाई फलदायी भएको बताएका थिए ।
राष्ट्रपतिले न्युयोर्कवासीका लागि अपराध नियन्त्रण र जीवनयापनको बढ्दो लागत (खर्च)जस्ता विषयमा नवनिर्वाचित मेयरसँग मिलेर काम गर्न चाहेको इच्छा व्यक्त गरेको जनाइएको छ ।
न्युयोर्क सिटीलाई उपलब्ध हुने संघीय अनुदान कटौती गर्ने उनले व्यक्त गरेको सम्भावित चेतावनीबारे ट्रम्पले मेयर माम्दानीलाई चोट पुर्याउनुको सट्टा सहयोग गर्ने अपेक्षा राखेको बताए ।
माम्दानी र ट्रम्प दुवैले धेरै विषयमा धारणा फरक भएको स्वीकार गर्दै न्युयोर्कवासीलाई सहयोग गर्ने विषयमा केही बुँदामा सहमति भएको बताइएको छ ।
राष्ट्रपतिले आफ्ना मतभेद मिलाएर अघि बढ्ने उल्लेख गर्दै माम्दानीले उत्कृष्ट काम गर्नसक्ने विश्वास व्यक्त गरेको समाचारमा उल्लेख छ ।
न्युयोर्क सिटीले राष्ट्रपति ट्रम्पलाई माया गर्छ कि गर्दैन भन्ने पत्रकारको प्रश्नमा मेयर माम्दानीले न्युयोर्क सिटीले सुलभ भविष्यलाई माया गर्ने जवाफ दिएका थिए ।
माम्दानीले जीवनयापनको बढ्दो लागतमा केन्द्रित भएकैले पछिल्लो राष्ट्रपति चुनावमा धेरै न्युयोर्कवासीले ट्रम्पलाई भोट दिएको टिप्पणी गर्दै उनी आफ्नो एजेन्डामा सफल हुन ट्रम्पसँग काम गर्न उत्सुक रहेको धारणा व्यक्त गरेका थिए ।
जीवनयापनको संकटबाट गुज्रिरहेका र एक चौथाइ गरिबीमा बाँचिरहेका करिब साढे ८० लाख मानिसको जीवन परिवर्तन गर्न यही एजेन्डाले सहयोग गर्नसक्ने माम्दानीले बताए ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसमक्ष माम्दानीको प्रशंसा पनि गरेका थिए । ट्रम्पले माम्दानी सामान्य व्यक्तिभन्दा फरक र सकारात्मक ढंगले प्रभाव पार्नसक्ने व्यक्ति भएको बताए । उनले न्युयोर्कका लागि माम्दानीसँग राम्रो काम गर्ने अवसर रहेको पनि बताएका थिए ।
राष्ट्रपतिले माम्दानी ‘सामान्य उमेदवार’भन्दा फरक रहेको र उनले कसैले अपेक्षा नतिजा निकाल्नु ठूलो सम्मान भएको बताएका थिए ।
न्युयोर्कको गभर्नरका लागि उमेदवार बनेकी रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकले माम्दानीलाई ‘जिहादी’ भनेको विषयमा ट्रम्प सहमत छन् कि छैनन् भन्ने पत्रकारको प्रश्नमा, ट्रम्पले आफू त्यस्तो अभिव्यक्तिसँग सहमत नभएको बताए ।
ट्रम्पले माम्दानी धेरै तार्किक व्यक्ति भएको र उनले न्युयोर्कलाई फेरि महान् भएको देख्न चाहने व्यक्तिलाई भेटेको टिप्पणी गरे ।
ट्रम्पले माम्दानीको नेतृत्वमा न्युयोर्क सिटीमा आफूलाई धेरै सहज महसुस हुने बताएका थिए । न्युयोर्क सिटीमा बस्न सहज लाग्छ कि भन्ने प्रश्नमा उनले विशेषगरी यो भेटपछि सहज महसुस भएको बताएका थिए । अपेक्षाकृत धेरै विषयमा आफूहरू सहमत भएको पनि उनको जानकारी दिए । सीबीएसन्युज ।