काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारीसँगै संघर्षका कार्यक्रम गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट चुनावी तयारी र संघर्षका कार्यक्रम एकसाथ अगाडि बढाउने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालले घोषणा गरेको संघर्षका कार्यक्रमअनुसार यही मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ । मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजारमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गरिनेछ ।
यस्तै, मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ । मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध तथा सभा आयोजना गरिने उनले जानकारी दिए ।
जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभाको कार्यक्रम समेत सार्वजनिक गरेको छ । पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज, १७ गते नेपालगन्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।
पार्टीले विगतदेखि नै उठाउँदै आएका माग र मुद्दा पूरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक संघर्षमा जानुपरेको बस्नेतको भनाइ छ ।
आवश्यकताअनुसार अरू विरोधका कार्यक्रम सम्बन्धित जिल्ला वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।