site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ : प्रचण्ड
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनमा युवालाई अवसर दिइने बताएका छन् । शनिबार (मंसिर ६) पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र पनि आउँदो चुनावमा युवालाई धेरै अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिए । पार्टी कमिटीहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका निम्ति तयार पार्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसुस गरिरहेको छु । अब तपाईं युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईंहरूलाई सुम्पिने संकल्प, सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ । अब हाम्रो सपना तपाईंहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक, संगठनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेताका रूपमा तयार पार्ने र मैले पार्टीमा पनि हाम्रो छलफल भएको छ । आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था हो, आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दै छौँ । नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु । म तपाईंहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्