site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा ‘नेपाली कम्युनिस्ट पार्टी’ संसदीय दल एकीकरण प्रक्रिया अघि बढ्यो

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले नेकपा (एकीकृत समाजवादी) सँग संसदीय दल एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

शनिबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले दुई पार्टीबीच प्रदेशस्तरमा संसदीय दल एकीकरण गरी ‘नेपाली कम्युनिस्ट पार्टी’का नाममा एकीकृत दल बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

यो प्रक्रिया पूरा भएपछि मात्र प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी गराइने माओवादी केन्द्रले जनाएको छ ।

संसदीय दलका नेता राजकुमार शर्मा सम्पर्कमा नआएपछि बैठकको अध्यक्षता प्रमुख सचेतक कृष्णबहादुर जिसीले गरेका थिए ।

बैठकमा नेता शर्माको अवस्थाबारे पनि छलफल भएको थियो । शर्माले पार्टी परित्याग गरेको चर्चा चले पनि यसको औपचारिक पुष्टि भइसकेको छैन । उनीसँग बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेपछि थप छलफल गर्ने जिम्मा बैठकले प्रमुख सचेतक जिसीलाई दिएको छ ।

बैठकले कर्णाली प्रदेश सरकारसँग तत्काल हिउँदे अधिवेशन बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । अघिल्लो अधिवेशनपछि प्रदेशमा राजनीतिक समीकरण फेरिएको र सरकारका कामकारबाहीमा संसद्को निगरानी आवश्यक रहेको भन्दै बैठकले अधिवेशनको माग गरेको हो ।

बैठकमा पार्टीका कर्णाली प्रदेश पूर्वइन्चार्ज कालीबहादुर मल्ल, पूर्वअध्यक्ष विमला केसी र प्रदेशसभा सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्