काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी र रुसी अधिकारीहरूबीच भएको एक गोप्य बैठकको विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ । अक्टोबरमा अमेरिकाको फ्लोरिडास्थित मियामीमा भएको बैठकबारे अमेरिकी विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्लाई समेत जानकारी नदिइएको रोयटर्सले जनाएको छ ।
सरकारी प्रक्रिया र आधिकारिक निकायलाई पूर्णरूपमा बेवास्ता गर्दै गरिएको बैठकले अमेरिकी सरकारभित्रै असन्तुष्टि पैदा गरेको छ ।
बैठकमा ट्रम्प प्रशासनका विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुशनर र रुसका किरिल दिमित्रिएव सहभागी थिए ।
दिमित्रिएव रुसी सार्वभौम कोष (आरडीआईएफ) का प्रमुख हुन् । उनी पुटिन निकट मानिन्छन् । सन् २०२२ देखि उनीमाथि अमेरिकी प्रतिबन्ध लागेको भए पनि बैठकका लागि उनलाई विशेष छुट दिइएको बताइएको छ ।
बैठकमा युक्रेन युद्ध अन्त्य गर्न २८ बुँदे प्रस्ताव तयार पारिएको थियो । प्रस्तावमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले २७ नोभेम्बरभित्र प्रतिक्रिया दिनुपर्ने अल्टिमेटम दिइएको छ । ट्रम्प पक्षले युक्रेनले यो शान्ति योजना स्वीकार गर्ने विश्वास व्यक्त गरेको छ ।
यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी योजनालाई समर्थन गर्दै यसले स्थायी शान्तिको आधार तयार गर्न सक्ने बताएका छन् । तर, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले भने आफ्नो समर्थन युक्रेनकै पक्षमा रहेको दोहोर्याएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चार वर्षको युद्धपछि युक्रेन ‘गम्भीर दोधार’मा पुगेको बताएका छन् । उनले अमेरिकी प्रस्ताव स्वीकार गरे देशको ठूलो भूभाग गुम्ने र अस्वीकार गरे अमेरिकाजस्तो मुख्य साझेदार गुमाउनुपर्ने जोखिम रहेको उल्लेख गरेका छन् । उनले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष कुराकानी गर्न चाहेको बताएका छन् ।
यस्तो छ विवादित शान्ति योजना
यो २८ बुँदे योजना ट्रम्प प्रशासनको ‘गाजा शान्ति योजना’बाट प्रभावित रहेको र दुवै पक्षको राय लिएर बनाइएको दाबी गरिएको छ । यद्यपि, युक्रेनी अधिकारीहरूले आफूहरूलाई यस प्रक्रियामा सामेल नगरिएको बताएका छन् । योजनाका मुख्य चार खण्ड यसप्रकार छन् :
खण्ड १–७ : क्षेत्रीय तथा सैन्य व्यवस्था
- युक्रेनले क्रिमियामा रुसको स्थायी नियन्त्रण स्वीकार गर्नुपर्ने ।
- हाल युक्रेनको नियन्त्रणमा रहेको १४.५ प्रतिशत भूभागसहित डोनबास क्षेत्र रुसलाई सुम्पिनुपर्ने ।
- जापोरिज्जिया र खेरसनमा ‘फ्रिज लाइन’ स्थायी बनाइने ।
- डोनबासलाई असैन्यीकृत क्षेत्र घोषणा गरिने र त्यहाँबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने ।
- युक्रेनी सेनाको आकार अधिकतम ४ लाखमा सीमित गरिने र लामो दुरीका हतियारमा प्रतिबन्ध लगाइने ।
खण्ड ८–१४ : सुरक्षा ग्यारेन्टी र नेटो
- युक्रेनलाई नेटो सदस्यतामा स्थायी प्रतिबन्ध ।
- पश्चिमा वा नेटो सेना युक्रेनमा बस्न नपाउने ।
- अमेरिकाले नेटो सरहको सुरक्षा आश्वासन दिने ।
- रुसी भाषा, मिडिया र चर्चको अधिकार संरक्षण गरिने तथा युद्ध अपराधमा आममाफी दिइने ।
खण्ड १५–२१ : युरोपको भूमिका र पुनर्निर्माण
- रुसमाथि लागेका नाकाबन्दी हटाइने र जफत गरिएको सम्पत्ति फुकुवा गरिने ।
- युरोपेली युनियन (ईयू) को सीमित सैन्य भूमिका रहने ।
- रुसले पुनर्निर्माणका लागि क्षतिपूर्ति दिने र कृष्ण सागर (ब्ल्याक सी)मा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने ।
- १०० दिनभित्र स्वतन्त्र निर्वाचन गराउने ।
खण्ड २२–२८ : भविष्यको अमेरिकी भूमिका
- अमेरिका–रुस सम्बन्ध सामान्यीकरणतर्फ लैजाने ।
- अमेरिका–युक्रेन सहयोग सैन्यबाट आर्थिक तथा प्राविधिक क्षेत्रमा केन्द्रित हुने ।
- कतार र टर्कीलाई मध्यस्थकर्ता बनाइने ।
- तत्काल युद्धविराम गर्ने र पाँच वर्षपछि सम्झौताको समीक्षा गर्ने ।
रोयटर्सबाट ।