site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
प्रवासी नेपालीलाई मताधिकारका लागि नीति अनुसन्धान प्रतिष्ठानले सुझायो तीन विकल्प

काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई अगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प प्रयोग गर्न सकिने सुझावसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिष्ठानले आइतबार काठमाडौंमा सरोकारवालाहरूसँग छलफल गरेको अध्ययन निष्कर्षअनुसार मदानको अनिवार्यता, मतदान गर्न दिँदा हुने जोखिम र मतदानको मार्गचित्रसहित सरकारलाई तीन विकल्प सुझाउने तयारी गरेको हो ।

प्रतिष्ठानले सरकारलाई आई–भोटिङ विधिको प्रयोग, सूचना प्रविधिको सहयोगमा हुलाकबाट गरिने मतदान र सम्बन्धित देशको कूटनीतिक नियोगमा भौतिक उपस्थितिमा मतदान गर्नेमध्ये एक विकल्प छनोट गर्न सकिने निष्कर्ष निकालेको छ ।

प्रतिष्ठानले आई–भोटिङ विधिमार्फत मतदान गराउँदा सर्वसुलभ, मितव्ययी, किफायती, पहुँचयोग्य, चुस्त, पारदर्शी, सहभागितामूलक, सुरक्षित र प्रभावकारी हुने निष्कर्ष निकालेको छ । त्यसका लागि स्थापित र अनुभवी कम्पनी प्रतिष्पर्धाको आधारमा छनौट गरी नेपालको आधिकारिक सर्भरबाट सञ्चालन गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले समानुपाति निर्वाचन प्रणालीबाट सूचना प्रविधिको सहयोगमा हुलाकबाट मतदान गर्न सकिने विधिको प्रयोग गर्न पनि सुझाएको छ । समानुपातिक निर्वाचन प्रणालीमा अस्थायी मतदानको अभ्यासबाट यसलाई सुरु गरी प्राप्त अनुभव र सिकाइका आधारमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा लागू गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले व्यवस्थापकीय प्रबन्ध, निर्वाचन सुरक्षा र नेपालको कूटनीतिक नियोगहरूको संस्थागत तथा मानव संशाधन क्षमताका आधारमा नियोगमा भौतिक उपस्थितिमा मतदान गर्न दिने विकल्पसमेत सुझाएको छ । यद्यपि, सम्बन्धित देशको भौगोलिक आकार र देशको राजनीतिक तथा सामाजिक र धार्मिक स्वतन्त्रका आधारमा यस विधिलाई सबैभन्दा जटिल विधिको रूपमा व्याख्यासमेत गरेको छ ।

प्रतिवेदनमाथिको छलफलमा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले सरोकारवालाबाट आएका सबै सकारात्मक सुझावहरूको आधारमा प्रतिवेदन तयार पारिएको बताए । उनले विदेशमा रहेका नागरिकलाई प्रत्यक्ष निर्वाचनमा सहभागी गराउन आवश्यक सबै उपायहरूमाथि अध्ययन गरेर सिफारिस गरिएको बताउँदै कार्यान्वयन गर्ने/नगर्ने सरकारको विषय भएको बताए ।

छलफलबाट आएका सकारात्मक सुझावसमेत समेट्दै सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने तयारी रहेको उनको भनाइ छ ।

पाँच कानुन संशोधन गर्न सुझाव

प्रतिष्ठानले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन विद्यमान निर्वाचनसम्बन्धी कानुनहरूमा आवश्यक परिमार्जन आवश्यक रहेको जनाएको छ । विदेशमा बस्ने नागरिकसँगै अन्तर–निर्वाचन क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि उनीहरूको अस्थायी बसोबास रहेकै स्थनबाट मतदानको अवसर उपलब्ध नगराउँदा झन्डै एक–चौथाई नागरिक निर्वाचनबाट वञ्चित हुनुपरेको प्रतिष्ठानको निष्कर्ष छ ।

प्रतिष्ठानले निर्वाचन क्षेत्रभन्दा बाहिर (स्वदेश तथा विदेशमा) बस्ने नागरिकहरूलाई निर्वाचनमा मतदानको अधिकार दिन मतदाता नामावली ऐन, २०७३, निर्वाचन ऐन २०७३, प्रतिनिधिसभा सदस्य ऐन, २०७४, मतदाता नामावलीसम्बन्धी नियमावली, २०६८ र प्रतिनिधिसभा निर्वाचन नियमावली, २०७४ संशोधन गर्न सुझाएको छ ।

प्रतिष्ठानले ऐन तथा नियमावलीका संशोधन गर्नुपर्ने दफाहरू समेत किटान गरी सरकारलाई बुझाएको अध्ययन प्रतिवेदनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउन राजनीतिक सहमति आवश्यक हुने पनि जनाएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्