site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्र सचिवले महावाणिज्यदूतहरूलाई बोलाएर दिए नेपाल ‘खुला’ रहेको सन्देश

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले विभिन्न देशका काठमाडौंस्थित मानार्थ महावाणिज्य र वाणिज्यदूतहरूसँग छलफल गरेका छन् ।

परराष्ट्र सचिव राईले आइतबार उनीहरूलाई परराष्ट्र मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा उनले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन र त्यसपछिका घटनाक्रमबारे काठमाडौंस्थित मानार्थ महावाणिज्यदूत/वाणिज्यदूतहरूलाई जानकारी दिएका थिए । 

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि राजनीतिक अस्थिरतालाई तोड्दै नेपाल ‘खुला र तयार’ भइसकेको सन्देश सम्बन्धित देश पुर्‍याउन पररष्ट्र सचिव राईले अनुरोध गरेका थिए ।

जेनजी प्रदर्शनले जनताको आवश्यकता र आकांक्षाहरू पूरा गर्न थप समावेशी, थप उत्तरदायी र थप जवाफदेही शासन प्रणालीको लागि आह्वान गरेको उनले जनाए । 

छलफलका क्रममा परराष्ट्र सचिव राईले सात सन्देश सम्बन्धित देशमा पुर्‍याउन महावाणिज्य र वाणिज्यदूतहरूलाई अनुरोध गरेका थिए । 

“जेनजी आन्दोलनको क्रममा भएको क्षतिको बाबजुद पनि सक्षम एजेन्सीहरूले मूल्यांकन गरेअनुसार हाम्रा बृहत् आर्थिक सूचकहरू बलियो र स्थिर अवस्थामा छन्,” परराष्ट्र सचिव राइले भने । 

नेपालले हाल विदेशी प्रत्यक्ष लगानीको लागि प्रोत्साहन गरिरहेको उनले जनाए । परराष्ट्र सचिव राईले थप स्पष्ट पार्दै भने, “विशेष गरी स्वच्छ र नवीकरणीय ऊर्जा, आधुनिक पूर्वाधार, सूचना प्रविधि, कृषि आधुनिकीकरण र उत्पादनमा प्रत्यक्ष विदेशी लगानीलाई सहज बनाउन प्रतिबद्ध छौँ ।”

नेपाल लगानीकर्ताहरूलाई स्वागत गर्न तयार र उत्सुक रहेको जनाउँदै उनले लगानीकर्ताहरूसँग जोड्नको लागि आवश्यक सहयोग गर्न महावाणिज्य र वाणिज्यदूतहरूलाई अनुरोध गरेका थिए । 

विश्वभरबाट नेपालमा पर्यटक आउने जनाउँदै उनले पर्यटकलाई आकर्षण गर्ने गन्तव्यहरू विस्तार गरिने बताए । “नेपाललाई सुरक्षित, आकर्षक र पहुँचयोग्य गन्तव्यको रूपमा प्रवर्द्धन गर्न तपाईंहरूको सहयोगले तत्काल र सकारात्मक प्रभाव पार्नेछ,” परराष्ट्र सचिव राईको भनाइ थियो । 

नेपालले नियम–आधारित, पारदर्शी व्यापार व्यवस्थालाई महत्त्व दिने उनले बताए । सबै मित्र राष्ट्रहरूलाई जलविद्युत्, कृषि–उत्पादन, जडीबुटी, हस्तकला र आईटी सेवाहरूसहित नेपालसँग व्यापार विस्तार गर्न प्रोत्साहित गर्ने उनले स्पष्ट पारे । “हाम्रा धेरै उत्पादनहरूको उल्लेखनीय बजार सम्भावना छ जुन अझै प्राप्त हुन बाँकी छ,” उनले भने । 

छलफलमा उनले नेपालको समृद्ध सांस्कृतिक सम्पदा, कलात्मक परम्परा र ‘सफ्ट पावर’ सबैभन्दा ठूलो कूटनीतिक शक्तिहरूमध्ये एक भएको बताए । सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध, युवा अन्तरक्रिया र ज्ञान साझेदारीलाई मजबुत बनाउने प्रयासलाई नेपालले स्वागत गर्ने उनले जनाए ।

“विश्वस्तरीय विश्वविद्यालयहरू र शैक्षिक संस्थाहरूसँग साझेदारीमा संस्थाहरू निर्माण गर्नुपर्छ ताकि हाम्रा विद्यार्थीहरूले घरमै विश्वस्तरीय शिक्षा पाउन सकून्,” परराष्ट्र सचिव राइले भने । 

जनता–जनताबीचको सम्बन्ध दीर्घकालीन अन्तर्राष्ट्रिय मित्रताको जग भएको उनले बताए । विश्वका विभिन्न भागहरूमा नेपालीहरू रहेको उनले जनाए । “तपाईंको निरन्तर संलग्नताले यी सम्बन्धहरूलाई दिगो र अर्थपूर्ण तरिकाले विकास गर्न मद्दत गर्दछ,” उनले भने । 

छलफलका क्रममा परराष्ट्र सचिव राईले नेपालले आगामी फागुन २१ गते चुनाव गर्न लागेको जानकारी दिँदै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई स्वागत गर्न तत्पर रहेको बताए । 

“तपाईंहरू सबै नेपाली समाजभित्रका प्रमुख व्यक्तित्वहरू हुनुहुन्छ । तपाईंहरू सबै मित्र राष्ट्रहरूका विश्वसनीय प्रतिनिधि हुनुहुन्छ । म विश्वस्त छु कि तपाईंको कामले पारस्परिक लाभहरूलाई सुदृढ पार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्