site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले भेनेजुएलामा आक्रमण गर्न लागको हो ? अन्तर्राष्ट्रिय उडान रद्द
फाइल तस्बिर ।

काठमाडौं । अमेरिका र भेनेजुएलाबीच तनाव बढ्दै गइरहेको छ । ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि दबाब बढाइरहेको छ । 

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पहरू खुला राख्दै बी–५२ परमाणु–सक्षम बमवर्षक विमानबाट ‘आक्रमण प्रदर्शन’ (अट्याक डेमो) गराए ।
 
यसअघि यूएसएस जेराल्ड आर फोर्ड विमानवाहक जहाज हितका धेरै युद्धपोतहरू क्यारिबियन क्षेत्रमा तैनाथ गरिएको छ । 

यसैबीच, अमेरिकी विमान नियामक संस्था फेडरल एविएशन एडमिनिस्ट्रेसन (एफएए)ले भेनेजुएलाको वायुक्षेत्रको सम्बन्धमा सतर्कता (अलर्ट) जारी गरेको थियो । सोमबार (२३ नोभेम्बर) धेरै अन्तर्राष्ट्रिय एयरलाइनहरूले भेनेजुएलाका लागि उडानहरू रद्द गरिसकेका छन् ।

दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको वरिपरि बढेको सैन्य गतिविधिको कारण सम्भावित स्थितिको बारेमा अमेरिकाबाट प्रमुख एयरलाइनहरूलाई चेतावनी दिइएपछि ६ वटा अन्तर्राष्ट्रिय एयरलाइनहरूले भेनेजुएलाका लागि उडानहरू अस्थायी रूपमा रोकेका छन् ।
 
एफएएले दिएको अलर्टमा भेनेजुएलामा खतराहरू रहेका कारण उडिरहेका विमानहरू, अवतरण र उडान भर्दै गरेका विमानहरू, र जमीनमा रहेका विमानहरू सबैको लागि जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको थियो ।

भेनेजुएला एयरलाइन्स एसोसिएशनकी अध्यक्ष मारिसेला डे लोआइजाका अनुसार स्पेनको इबेरिया, पोर्चुगलको टीएपी, चिलिको लातम, कोलम्बियाको एभियान्का, ब्राजिलको जिओएल र ट्रिनिडाड एन्ड टोबागोको क्यारिबियन एयरलाइन्सले भेनेजुएलाका लागि उडानहरू रोकेका हुन् ।

मारिसेला डे लोआइजाका अनुसार उक्त ६ वटा प्रमुख विदेशी एयरलाइनहरूले आफ्ना सेवाहरू अनिश्चित कालका लागि रोकेका हुन् । टर्की एयरलाइन्सले २४ देखि २८ नोभेम्बरसम्म उडानहरू निलम्बन गर्ने घोषणा गरेको छ । 
 
अमेरिका र भेनेजुएलाबीचको तनाव उत्कर्षमा पुगेको बेला यो उडान निलम्बन भएको छ । वासिङ्टनले आफ्नो लागूऔषध तस्करी विरोधी अभियानअन्तर्गत क्यारिबियनमा सैनिकहरूसहित विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज पनि तैनाथ गरेको छ । तर, भेनेजुएलाले यो अभियानलाई राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने प्रयास भनेको छ । 

अमेरिकी सेनाले क्यारिबियन र प्रशान्त क्षेत्रमा कथित मादक पदार्थ भएका डुंगाहरूमाथि कम्तीमा २१ पटक आक्रमण गरिसकेको छ, जसमा कम्तीमा ८३ जना मारिएका छन् ।

यसैबीच, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्टमार्फत चिन्ता व्यक्त गर्दै सबै ल्याटिन अमेरिकी देशहरूबीच नियमित उडान सेवा जारी रहनुपर्ने बताएका छन् । उनले पोष्टमा लेख्दै भने, “देशहरूमाथि प्रतिबन्ध लगाउनु भनेको व्यक्तिहरूमाथि रोक लगाउनु हो र यो मानवताविरुद्धको अपराध हो ।” एबीसीन्युज

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्