site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको २८ बुँदे रूस–युक्रेन शान्ति योजनामा किन भइरहेको छ छलफल ?
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेस गरेको रूस–युक्रेन युद्धसम्बन्धी २८ बुँदाको प्रस्तावलाई लिएर अमेरिका, युक्रेन र युरोपेली सहयोगीहरूबीच स्विट्जरल्यान्डको जेनेभामा छलफल जारी छ ।
 
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ आइतबार ९२३ नोभेम्बर० जेनेभा पुगेका छन् ।  ट्रम्पले यो योजनामा सहमत हुन युक्रेनलाई २७ नोभेम्बर सम्मको म्याद दिएका छन् । तथापि, शनिबार उनले यो २८ बुँदे प्रस्ताव उनको अन्तिम प्रस्ताव नभएको बताएका थिए ।

अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच भएको बैठकपछि अमेरिकी विदेशमन्त्री रुबियोले शान्ति वार्तामा प्रगति भएको उल्लेख गर्दै छलफलकर्ताहरूलाई थप समय आवश्यक पर्ने बताएका छन् ।

रुबियोले यो बैठकलाई शान्ति प्रक्रियाको अहिलेसम्मकै सर्वाधिक फलदायी र सार्थक बैठक रहेको भन्दै अझै केही काम बाँकी रहेको बताएका छन् । तर, त्यो दिन बिहान वार्ता सुरु हुनुभन्दा आफूहरू धेरै अगाडि पुगेको टिप्पणी गरेका छन् । 

जटिल सम्झौताहरूमा धैर्य र लगनशीलताको आवश्यकता हुने भन्दै उनले अझ केही समय लाग्ने भए पनि अन्ततः सम्झौताको लक्ष्यसम्म पुगिने विश्वास व्यक्त गरेका छन् ।

युक्रेन र यसका युरोपेली सहयोगीहरूले यो योजना रूसको पक्षमा भएको जस्तो देखिने र यसले युक्रेनको ठूलो भूभागको गुम्नसक्ने चिन्ता व्यक्त गरिरहेका बेला यस्तो भनाइ आएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै न कुनै नतिजा निस्कने आशा व्यक्त गरेका छन् । युक्रेनी राष्ट्रपतिको प्रमुख सचिव आन्द्री एरमाकले अमेरिकी प्रस्तावित शान्ति प्रस्तावमाथि छलफलको लागि जेनेभा पुगेको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् ।
 
उनले सामाजिक सञ्जाल ‘एक्स’मा जर्मनी, फ्रान्स र बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग पहिलो बैठक गरेको जानकारी दिए । यसपछि अर्को बैठक अमेरिकी प्रतिनिधिमण्डलसँग बस्दै छ ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार अमेरिकी राष्ट्रपतिले तोकेको बिहीबार ९२७ नोभेम्बर०को म्यादभित्र २८ बुँदे प्रस्तावमा सम्झौता हुन सक्नेमा शंका व्यक्त गरेका थिए । जर्मन चान्सलरले रूससँगको सम्भावित सम्झौताका लागि सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले शनिबार रूसलाई रोक्न आवश्यक शर्तहरू नभए, रूस फर्केर आउन सक्ने र आफ्नो प्रतिबद्धता भंग गर्न सक्ने चेतावनी दिएका थिए ।

युक्रेनका युरोपेली सहयोगीहरूले २२ नोभेम्बरमा जारी गरेको संयुक्त बक्तव्यमा प्रस्तावित ट्रम्प योजनामा थप सुधारको आवश्यकता रहेको बताएका छन् । नेताहरूले भनेका छन्, “हामीले युक्रेनमा शान्ति ल्याउने अमेरिकी प्रयासहरूलाई स्वागत गर्छौं । २८ बुँदे प्रारम्भिक मस्यौदामा यस्ता महत्वपूर्ण कुराहरू समावेश छन् जुन न्यायोचित र टिकाउ शान्तिको लागि अत्यन्त आवश्यक हुनेछन् ।” तर, मस्यौदा एक आधार भए पनि यसमा थप काम गर्न आवश्यक रहेको बताएका छन् । 
 
उक्त बक्तव्यमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, नेदरल्यान्ड्स, आयरल्यान्ड, फिनल्यान्ड, नर्वे र युरोपेली संघसँगै क्यानाडा र जापानका प्रधानमन्त्रीहरूले पनि हस्ताक्षर गरेका छन् ।
 
युक्रेनी राष्ट्रपतिको कार्यालयले शनिबार देशले आउने केही दिनमा रूसी आक्रमण अन्त्य गर्ने कदमहरूमाथि विचारविमर्श गर्ने बताएको छ । यसमा भनिएको छ, “युक्रेनले कहिल्यै पनि शान्तिको बाटोमा अवरोध बनाउने छैन र देशको नेतृत्वले युक्रेनीहरूको जायज हित र युरोपेली सुरक्षाको आधारको रक्षा गर्नेछ ।” स्काईन्युजबाट ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्