site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
... अनि सरकारले गर्‍यो 'जेनजी'लाई सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं । मंगलबार (मंसिर ९) गरिखान देउ अभियानका संयोजक तथा 'जेनजी' अगुवा मिराज ढुंगाना समूहले निधारमा कालोपट्टी बाँधेर सरकारको विरोध गर्‍यो । सिंहदरबार प्रवेशमै रोक लगाएपछि ढुंगाना समूह सरकारको विरोधमा उत्रिएको हो ।

"मंसिर ९ गते आजको दिन कालो दिन हो । चुनाव सहजीकरणका लागि बोलाइएको त्रिपक्षीय भेटमा हामीले प्रधानमन्त्रीलाई भेटेका थियौँ । त्यसपछि हामीले भेट्न पाएका छैनौँ," ढुंगानाले भने ।

तर, यसो हुनुमा सोमबार सिंहदरबारमा भएको घटनाले काम गरेको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेको 'जेनजी' समूहबीच आपसमा भनाभन भएको थियो । जसका कारण प्रधानमन्त्री कार्यालयमा सुरक्षा सतर्कता बढाइएको थियो भने प्रधानमन्त्री अर्को बाटोबाट बाहिरिएकी थिइन् ।

jenze_-1763983359.jpg
प्रधानमन्त्री कार्यालयमा 'जेनजी'हरूबीच सोमबार भएको भनाभन । 

जसका कारण सोमबार प्रधानमन्त्रीलाई भेट्ने समय नपाएपछि ढुंगाना समूह मंगलबार पनि प्रधानमन्त्रीलाई भेट्न जाने भन्दै सिंहदरबार गेटमा पुगेको थियो ।

तर, उनीहरूलाई प्रहरीले पाँचजनाभन्दा बढी भेला गरेको भन्दै प्रवेशमै रोक लगाइदिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।

"सिंहदरबार वरिपरि निषेधित क्षेत्र हो । त्यहाँ पाँच जनाभन्दा बढी जम्मा भएपछि निषेधित क्षेत्रको पालना गरेका हौँ," उनले भने । प्रहरीले 'बिनापास' कसैलाई पनि सिंहदरबार प्रवेश नदिएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले पास लिएर मात्रै प्रवेश दिइएको जानकारी दिए । “सिंहदरबार प्रवेश गर्दा कसैलाई पनि पास नलिई पठाइएको छैन । सोमबार पनि बिनापास कसैलाई पनि पठाइएको छैन,” उनले भने ।

तर, ढुंगाना भने आफ्नो आवाज थिच्ने प्रयास भएकाले कालोपट्टी बाँधेर विरोधमा उत्रनुपरेको तर्क गर्छन् । सरकारले सुशासन र आर्थिक सुधार नगरी चुनावलाई मात्रै म्यान्डेट मानेको विश्लेषण गर्दै ढुंगानाले असन्तुष्टि पोखे ।

"प्रधानमन्त्रीले चुनावलाई मात्रै ‘म्यान्डेट’ मान्नुभएको छ । तर, हामीले सुशासन खाजेका थियौँ । आर्थिक क्रान्ति खोजेका थियौँ," ढुंगाना भन्छन्, "केही भएन । यसैका लागि ७६ जना मरे ।"

सरकारले आफूहरूको आवाज दबाउन खोजेकाले दोस्रो चरणको शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको उनको भनाइ छ । "सरकारले हाम्रो माग सुन्दैन भने हाम्रो यो दोस्रो चरणको आन्दोलनको उद्घोष हो । हाम्रो आवाज थिचियो । रगतबाट आएको सरकार निकम्मा भयो । पाँच वर्षे स्थिर सरकार चाहियो," उनी भन्छन् ।

asdfasg-1763978356.jpg
जेनजीहरूबीचको विवादपछि बढाइएको सुरक्षा सतर्कता ।


के थियो सोमबारको घटना ?

सोमबार (मंसिर ८) प्रधानमन्त्री निवास बाटुवाटारबाट नियमित कामका लागि प्रधानमन्त्री सुशीला कार्की बिहानै सिंहदरबारस्थित कार्यालय पुगेकी थिइन् । उनको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै करिब ५० जना फरक–फरक समूहका 'जेनजी' उनलाई भेट्ने योजनासहित प्रधानमन्त्री कार्यालयमै पुगेका थिए ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई रोजगारी दिलाएको विषय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम 'जेनजी'को थियो । प्रधानमन्त्री कार्यालय पुग्नेमा 'द काउन्सिल अफ जेनजी' (सुधन गुरूङ समूह), 'जेनजी फ्रन्ट' (रक्षा बम समूह), 'गरिखान देउ' (मिराज ढुंगाना समूह), 'जेनजी मुभमेन्ट'लगायत थिए ।

गेटको पाससहित ज्ञापनपत्र बुझाउनका लागि प्रधानमन्त्री कार्यालयसम्म 'जेनजी'का समूहहरू पुगे पनि उनीहरूले प्रधानमन्त्रीलाई भेट्न भने पाएनन् । नातेदारलाई जागिर दिलाएको विषयमा प्रधानमन्त्रीसँग कुरा राख्ने भन्दै बिहान ११ बजे पुगेका फरक–फरक समूहका जेनजीबीच विवाद, भनाभन र होहल्ला नै भयो ।

सोमबार को–को पुगेका थिए सिंहदरबार ?

सुधन गुरुङ समूहबाट ओजस्वीराज थापा, 'गरिखान देउ' अभियानका संयोजक मिराज ढुंगाना सिंहदरबार पुगेका थिए । 'जेनजी मुभमेन्ट' नेपाल समूहबाट रविकिरण हमाल, विजय शाह, टेकेन्द्र जोशी र अजय सोडारीलगायत 'जेनजी' अगुवाहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

परिवार र नातेदारलाई रोजगारी दिलाएको विषयमा स्पष्टीकरणको माग गर्दै 'कर्णाली जेनजी' समूहकी प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाही पनि पुगेकी थिइन् । जेनजीका मुख्य अगुवाका रूपमा चर्चामा रहेका सुधन गुरुङ, रक्षा बमलगायत भने सिंहदरबार गएका थिएनन् ।

त्यही क्रममा सिंहदरबारमा शाही र सुधन समूहबीच भनाभन भएपछि घण्टौँसम्म प्रधानमन्त्री आवातजावत गर्ने गेटमै अवरोध पुग्यो ।

बिहानैदेखि प्रधानमन्त्रीको समय कुरिरहेका 'जेनजी' समूहलाई कोठाभित्र बसाएर प्रधानमन्त्रीलाई ‘डाइभर्ट’ नै गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

सुधनसमूहका थापा र कर्णाली जेनजीकी शाहीबीच पटक-पटक भनाभन हुँदा प्रधानमन्त्री कार्यालय नै अशान्त बनेको थियो । जसका कारण थप सुरक्षाकर्मी परिचालन गर्नुपर्नेसम्मको स्थिति बनेको थियो ।

अनि, लफडाकाबीच प्रधानमन्त्रीसँग भेट्ने समय नपाएपछि ढुंगानासमूह प्रधानमन्त्रीलाई बुझाउन भनेर लगेको ज्ञापनपत्र ढोकामै टाँसेर फर्कियो ।

miraaaj-1763992504.jpg
'जेनजी' अगुवा मिराज ढुंगानालगायत ।

'जेनजी' अगुवालाई नेतृत्व मान्दैनौँ : प्रदेश संयोजक शाही

कर्णाली प्रदेश संयोजक शाही भने आफ्नो नेतृत्वकर्ताहरूले नै सरकारलाई हातमा लिन खोजेपछि आफू बाहिर आउनुपरेको तर्क गर्छिन् ।

"हामीलाई प्रदेश संयोजक तोकियो । म पनि सुधन समूहमै थिए । तर, नेतृत्वले नै आम नागरिकको माग मुद्दा नउठाएपछि म यहाँ आउनुपरेको हो । उहाँहरूलाई नेतृत्व मानेका थियौँ । तर, अब हाम्रो नेतृत्वलाई राजा मान्न सकिदैन," उनले भनिन् ।

अहिलेसम्म पनि घाइतेहरू अस्पतालको बेडमै रहेको र उनीहरूको माग मुद्दाको विषयमा कसैले पनि आवाज नउठाएको उनले बताइन् । "अहिलेसम्म पनि बिरामी घाइतेहरू अस्पतालमै छन् । उनीहरूको आवाजको उपहास गरियो । सीमित व्यक्तिहरूले सरकार चलाउन थाले," उनले थपिन् ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्