site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ईश्वर पोखरेलले गरे एमाले अध्यक्षमा उमेदवारी घोषणा
ईश्वर पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । मंगलबार (मंसिर ९) विज्ञप्ति जारी गर्दै पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् । 

“...पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,” विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । “पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,” उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, “पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।”

पोखरेलले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा विवेक पुर्‍याउन पनि आह्वान गरेका छन् । “यति बेला नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तयारीका कामहरू सुरु भएका छन् । पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदै छ,” विज्ञप्तिमा भनिएको छ ।

उनले अगाडि भनेका छन्, “माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्र्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु ।”

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्