काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताए । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन उनले आग्रह गरे ।
अब सबै जनसंगठनहरूलाई एकताबद्ध गर्नुपर्नेमा नेता नेपालले जोड दिए । इतिहासको चर्चा गर्दा पनि ०५२ सालदेखि मात्रै नभएर ००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई उनको आग्रह थियो । ०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीमा योगदान भएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई नेता नेपालले निर्देशन दिए ।
नेकपा (एमाले) का कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टीभित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए । एउटा मात्रै नेताको मात्रै चर्चाले पार्टीभित्र 'बा' प्रवृति हावी हुने उनको भनाइ छ ।
यस्तो छ नेता नेपालको भनाइ :
हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छौँ । म तपाईंहरूलाई फेरि पनि भन्न चाहन्छु, अब यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महसुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ ।
पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरूलाई पनि एकताबद्ध गर्नुपर्नेछ ।
इतिहासको चर्चा गर्दाखेरी पनि ०५२ सालदेखिको मात्रै होइन ००६ सालदेखिको चर्चा हुनुपर्छ । ०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरूले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी । न्युज एजेन्सी नेपाल