site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा : अनुहार र संरचना पुरानै राखेर नयाँ देखाउने प्रयास !

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले ‘पुरानै संरचना’ अघि बढाउने भएको छ ।  नेपाली कम्युनिस्ट पार्टीले एकताअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मिल्दोजुल्दो विभाग तथा संगठन मर्ज गरी अघि बढ्ने नीति अपनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङका अनुसार, एकता महाधिवेशनले केन्द्रमा संयोजक र सह–संयोजक तोकिसकेको छ ।  केन्द्रीय समितिभित्रका संरचनाहरूमा केन्द्रीय कार्यकारी समिति बनाउने तयारी भएको छ । केन्द्रीय कार्यकारी समितिमा ६०१ जना रहनेछन् । 

त्यो निर्वाचन आयोगमा पठाइने छ । सचिवालयको एक तिहाइलाई केन्द्रीय संयोजक समिति बनाइनेछ । केन्द्रीय संरचनामा पार्टी संगठन, प्रचार–प्रसार, विदेश, योजना, शिक्षा–प्रशिक्षण, जनसम्पर्क, नीति अनुसन्धान आदि रहनेछन् ।

उनका अनुसार, प्रदेश स्तरमा पनि समायोजन भएका घटक मिलाएर प्रदेशस्तरीय संरचना बन्नेछ । 

उनले भने, “प्रदेशमा पनि त्यो संरचनाभित्र एउटा सचिवालय बन्छ । त्यो सचिवालयमा पनि कार्यालय सञ्चालनका लागि संयोजक समिति बन्नेछ ।”

प्रदेशअन्तर्गतका जिल्ला, स्थानीय पालिका र वडा समितिहरू रहनेछन् । उनले थपे, “सबैको कार्यालय त्यही छ । सबै त्यतै हुनुहुन्छ । जिम्मेवारी पनि छँदैछ । त्यसमध्ये कसलाई संयोजक, कसलाई सह–संयोजक, कसलाई इन्चार्ज बनाउने कुरा रह्यो । नयाँ मान्छे छान्ने कुरा होइन । नयाँ जिम्मेवारी परिवर्तन हुने कुरा पनि होइन । एकाधबाहेक जो जहाँ हुनुहुन्छ, त्यहीँ व्यवस्थापन गर्ने हो ।”

अरु बाँकी विषय आपसी सल्लाहबाट टुंगो लाग्ने पनि उनले बताए । उनले भने, “पार्टीमा बहुपद राखिएको छैन । अरु सदस्यले त काम गर्ने नै हो नि । प्रारम्भिक चरणमा पनि बहुपद नराख्ने निर्णय भएको थियो । अरुको देखासिखीमा बहुपदको अभ्यास भएको हो । हामी सामूहिक ढंगले नै अगाडि बढ्छौँ ।”

जिल्लामा पनि प्रदेशजस्तै संरचना बन्ने गुरुङले बताए । यस्तै पालिका र वडासम्म अधिवेशन गरेरै कार्यकारी अधिकारसहितको समिति बनाउने नेकपाले जनाएको छ ।

संघीय निर्वाचन र क्षेत्रीय निर्वाचनका बेला कामका बोझ ध्यानमा राखी जिल्लाको मातहतमा संयोजक समिति बनाउने दलको तयारी छ । निर्वाचनलाई केन्द्रमा राखेर उक्त समितिले काम गर्नेछ ।

यस्तै वडाको हकमा भूगोल खुलेको ठाउँमा टोल समिति र भूगोल नखुलेको ठाउँमा प्रारम्भिक कमिटी बनाउँदै अघि बढ्ने नेपाली कम्युनिस्ट पार्टीको तयारी छ ।

काठमाडौं उपत्यकालाई वागमती प्रदेशमा मात्र समेट्न नसक्ने भएकाले यहीँका मतदातालाई भूगोलमा समेट्ने र बाहिरका मतदातालाई संघीय सम्पर्क समिति बनाएर समेट्ने तयारी रहेको उनले बताए ।

काठमाडौं उपत्यकामा पेशा–व्यवसायमा रहेका व्यक्तिलाई पेशागत संरचनामा अटाउने नेकपाको नीति छ ।

नेपाली कम्युनिस्ट पार्टीमा केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र स्थानीय संरचना बनाउँदै अघि बढ्ने, काठमाडौं उपत्यकामा भूगोल र पेशागत रूपमा आवद्ध व्यक्तिलाई समेट्ने नीतिसहित काम अघि बढेको नेता गुरुङले बताए । 

उनका अनुसार, जनसंगठन र मोर्चालाई मर्ज गरेर लगिनेछ । अन्तर्राष्ट्रिय र विदेश विभागलाई पनि समेटेर सोहीअनुसारको जिम्मेवारीका लागि केन्द्रले निर्णय गर्ने छ । यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सबै संरचनालाई छिटोभन्दा छिटो मिलाएर जानुपर्ने बताएका छन् ।

काठमाडौंको पेरिसडाँडामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, “पार्टीका सबै संरचना कसरी छिटोभन्दा छिटो एकताबद्ध गर्ने, हामीले एकता प्रक्रियालाई संरचनात्मक ढंगले मिलाएर जानुपर्‍यो ।”

नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देशसभा आयोजना गर्ने यसअघि तय गरिसकेको छ । प्रदेश र स्थानमा हुने उक्त सभाको तयारी तीव्र गतिमा भइरहेकाले संरचनाको विषय चुनौतीपूर्ण नहुने नेता गुरुङको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्