काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको टिप्पणी गरेका छन् ।
मुस्लिम समुदायसँग नेपाली कम्युनिस्ट पार्टी विषयक छलफलमा प्रचण्डले भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको बताए । २४ गतेपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको उनको भनाइ छ ।
राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको उनले बताए । "अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरूले पनि महसुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको छ," प्रचण्डले भने ।
सो पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताए । विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्त्वहरू सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने उनको भनाइ छ ।
"अनेक तत्त्वहरूले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि साम्प्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातीय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ," उनले भने । न्युज एजेन्सी नेपाल