काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटीको १०औँ बैठकको निर्णयअनुसार भएको स्पष्ट पारेका छन् । एमाले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्ता गर्दै आएको बताए ।
"अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो," उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको बताए । "यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ," उनले भने, "बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरूका गतिविधिलाई निरुत्साहित गर्ने तथा समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् ।"
भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य भएको उनले उल्लेख गरेका छन् ।