काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीच पुनः तनाव बढेको छ । तालिबानले पूर्वी अफगानिस्तानमा पाकिस्तानी सैनिकद्वारा गरिएका हवाई हमलामा नौ बच्चा र एक महिलाको मृत्यु भएको बताएको छ । चारजना घाइते भएको आरोप लगाएको छ ।
इस्लामाबादतर्फ भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । पाकिस्तानमा हालै भएको हमलापछि यो हवाई आक्रमण भएको हो । पाकिस्तानले ती हमलावरहरू अफगानिस्तानबाट भएको दाबी गरेको छ ।
गत महिना दक्षिण एसियाका यी दुई छिमेकी राष्ट्रबीच भएका हवाई आक्रमण र झडपमा धेरैको मृत्यु भएको थियो । सन् २०२१ मा काबुलमा तालिबान सत्तामा फर्किएपछि यो सबैभन्दा घातक टकराव मानिएको छ ।
आरोप–प्रत्यारोप
पाकिस्तानको दाबी अनुसार पाकिस्तानी भूमिमा हमला गर्ने अधिकांश समूह अफगानिस्तानमा आधारित छन् । र, त्यहीँबाट पाकिस्तानमा आक्रमण गर्छन् ।
यही महिना इस्लामाबादमा भएको आत्मघाती बम हमलामा १२ जनाको मृत्यु भएको थियो । पाकिस्तानी राजधानीमा एक दशकपछि पहिलोपटक नागरिकहरू प्रत्यक्षरूपमा लक्षित भएका थिए । त्यसको एक दिनअघि, अफगान सीमा नजिकैको दक्षिण वजिरिस्तानमा अर्को बम विस्फोटमा तीनजनाको मृत्यु भएको थियो ।
सोमबार पेशावरमा अर्धसैनिक बलको मुख्यालयमा तीन आत्मघाती हमला भए, जसमा तीनजना सैनिक मारिए । कम्तीमा पाँचजना घाइते भएका छन् ।
अफगान तालिबानले भने पाकिस्तानी दाबीहरू अस्वीकार गर्दै आएका छन् । उनीहरूले अफगान भूमि अरू मुलुकविरुद्ध प्रयोग गर्न नदिने दाबी दोहोर्याउँदै आएका छन् ।
गत महिना के भयो ?
पाकिस्तानका अनुसार सन् २०२१ मा तालिबान सत्ता फर्किएपछि पाकिस्तानमा बढेका हमलाले उनीहरूको सहनशीलता समाप्त हुँदै गएको छ । पाकिस्तानी सुरक्षा अधिकारीहरूले बताएका अनुसार, अक्टोबरमा पाकिस्तानले काबुलमा एक हवाई हमला गरेको थियो, जसको लक्ष्य पाकिस्तानी तालिबानको नेता थिए । उनी मारिए अथवा होइन भन्ने स्पष्ट भएको छैन ।
यसको प्रतिक्रिया स्वरूप, अक्टोबर ११ मा तालिबान सैनिकहरूले २६ सय किलोमिटर लामो सीमामा रहेका पाकिस्तानी चौकीहरूमा हमला गरेका थिए । त्यसपछि पाकिस्तानले जवाफी कारबाही गरेको थियो । पाकिस्तानले २३ जना सैनिक मारिएको बतायो भने तालिबानले आफ्नोतर्फ नौजनाको मृत्यु भएको दाबी गर्यो । तर, दुवै पक्षले एकअर्कालाई ठूलो क्षति पुर्याएको आरोप लगाएका थिए ।
अक्टोबरमै दुवै पक्षले दोहामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । तर इस्लामाबादले खोजिरहेका हमला गर्नेहरूविरुद्ध काबुलले लिखित प्रतिबद्धता नदिएपछि वार्ता दीर्घकालीन सहमतिबिना नै टुंगिएको थियो । अफगान तालिबानले पाकिस्तानमा सुरक्षा व्यवस्था कायम राख्ने जिम्मा आफूहरूले लिन नसक्ने स्पष्ट पारेका थिए ।
पाकिस्तानी तालिबान (टीटीपी) को हो ?
सन् २००७ मा पाकिस्तानको पश्चिमोत्तर क्षेत्रका मुख्यतया पस्तुन समुदायका धेरै जिहादी समूहहरू एकीकृत भएर तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) गठन गरेका थिए । यसलाई सामान्यतया पाकिस्तानी तालिबान भनिन्छ ।
यो समूह अफगान तालिबाबाट प्रेरित भएर गठन भएको थियो । अफगान तालिबानले १९९० को दशकमा सत्ता कब्जा गरेका थिए । तर, २००१ मा अमेरिका नेतृत्वको आक्रमणपछि सत्ताच्यूत भएका थिए । टीटीपी अझै बढी कट्टर मानिन्छ र यसको विचारधारा अल–कायदानजिक रहेको बताइन्छ ।
केही वर्षमै टीटीपीले बजार, मस्जिद, विमानस्थल, सैनिक अड्डा र प्रहरी चौकीमा हमला गर्दै व्यापक क्षेत्र कब्जा पनि गर्यो जो मुख्यतया अफगान सीमानजिक तर पाकिस्तानभित्र पर्छ । स्वात उपत्यकामा उनीहरूले स्कुलका छात्रा मलाला युसुफजाईलाई गोली हानेको घटना विश्वभर चर्चित छ ।
टीटीपीले अफगानिस्तानमा अफगान तालिबानसँग मिलेर लडेको र पाकिस्तानमा अफगान लडाकुहरूलाई आश्रय दिएको इतिहासले दुवैबीच बलियो सम्बन्ध देखाउँछ । पाकिस्तानले टीटीपीविरुद्ध धेरै सैन्य अभियान चलाए पनि सीमित सफलता मात्र प्राप्त भएको छ ।
विगत केही वर्षयता टीटीपीका हमलाहरू पाकिस्तानका सुरक्षा बलहरूलाई मुख्य लक्ष्य बनाउन थालेका छन् ।
तालिबानले अफगानिस्तानको सत्ता लिएपछि के बदलियो ?
सन् २०२१ मा तालिबान सत्ता फर्किएपछि पाकिस्तानले यसलाई स्वागतयोग्य विकास मानेको थियो । त्यतिबेलाका प्रधानमन्त्री इमरान खानले अफगानहरूले दासताका साँगलो तोडेका बताएका थिए ।
पाकिस्तानको दाबीमा टीटीपीको नेतृत्व र धेरै लडाकुहरू अफगानिस्तानमै बसेका छन् । पाकिस्तानले बलोचिस्तानका स्वतन्त्रता चाहने बलोच विद्रोहीहरू पनि अफगानिस्तानमा सुरक्षित आश्रय पाउँछन् भन्ने दाबी गरेको छ ।
इस्लामाबादले यसमा भारतको हात रहेको आरोप लगाउँछ । भारतले टीटीपी तथा बलोच विद्रोहीहरूलाई सहयोग पुर्याइरहेको दाबी गर्छ । नयाँदिल्लीले भने यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । डेकेन हेराल्डबाट ।