बुटवल । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका पार्टी गाभिएर बनेको नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशसभामा पनि दर्ता भएको छ ।
तत्कालीन माओवादी–समाजवादीको मंगलबार बसेको बैठकले स्वतः एकीकरणको घोषणा गर्दै नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दल औपचारिक रूपमा गठन गर्दै नेतृत्व चयन गरेको हो ।
दलका नेतामा जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजित थारु र सचेतकमा भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । महरा र थारू माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने अधिकारी एकीकृत समाजवादीबाट समानुपातिक सांसद हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई पार्टीका सदस्यहरूको संयुक्त बैठक बसेर आफूहरूको स्वतः एकीकरण भएको घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए ।
नयाँ दल कात्तिक २८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशसभामा हाल कुल ८६ जना सांसद छन् । तीमध्ये सभामुखसहित ११ जना माओवादी केन्द्र र एकजना समाजवादी गरी१२ जना सांसद नेपाली कम्युनिस्ट पार्टीका छन् ।
एकीकृत दलका सांसदहरूले अबदेखि लुम्बिनी प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी नामबाट संसदीय दलका रूपमा कार्य गर्ने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।