काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीका नाममा उत्तेजना फैलाउने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई जेनजीको नाममा ठाउँ–ठाउँमा अवरोध गर्ने प्रयास भएको भन्दै बस्नेतले आपत्ति जनाए ।
जेनजीका नाममा आफूलाई जेनजीको अगुवा ठान्ने बालेन, कुलमान घिसिङ र सुधन गुरुङले षड्यन्त्र गरिरहेको उनको भनाइ छ ।
बस्नेतले भने, “जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्याउन षड्यन्त्र गर्ने बालेन, कुलमान घिसिङ, सुधन गुरुङ हुन्, यिनलाई पक्राउ गरेर छानबिन गर्नुपर्छ ।”
संघले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको युवा जागरण अभियानमा जाँदा जेनजीको नाममा प्लेकार्ड देखाउने युवाहरूप्रति भने कुनै आपत्ति नभएको उनको भनाइ छ ।
कार्यक्रमस्थलतर्फ आउँदा सडक अवरुद्ध गर्न केही व्यक्ति आएपछि युवाहरूले प्रतिरोध गरेर सडक खाली गराएको उनले बताए ।