site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन 'न्वारानदेखिको बल' लगाउँछौँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालयसभा बैठकपछि सञ्चारकर्मीसँग उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानुन ल्याउने प्रयास भइरहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भए पनि सोसम्बन्धी कानुन ल्याउन लागेको पनि स्पष्ट पारे । यसबारे कसरी कानुनी व्यवस्था गर्ने भन्नेबारेमा कानुनविद्हरूसँग छलफल भइरहेको उनको भनाइ छ ।

विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको मन्त्री पुनले बताए । उनले विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई देशको 'थिङ्क ट्यांक'को रूपमा स्थापित गराउन चाहेको उनको भनाइ छ ।

यस्तो छ मन्त्री पुनको भनाइ :

कानुन कसरी आउँछ ? हेर्दै छौँ । तर विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने गरी कानुन ल्याउने प्रयास हुँदै छ । अध्यादेशबाट हुन्छ कि के छ कानुनविदहरूसँग सरसल्लाह हुँदै छ । हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारानदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारानदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्