site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको ११औँ महाधिवेशनलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
फाइल तस्बिर ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को आशन्न ११औँ महाधिवेशनका लागि शुभकामना दिएकी छन् । एमालेकी तत्कालीन उपाध्यक्ष समेत रहेकी भण्डारीले आफ्नो भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले सँगै रहने बताएकी छन् । 

“मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् । 

विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन  महाधिवेशन सफल हुने उनको विश्वास छ । 

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिंगो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएको उनले बताएकी छन् । 

एमाले महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा

महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा ध्यान दिने उनको विश्वास छ ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने काठमाडौंको भृकुटिमण्डपमा हुनेछ । 
 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्