काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष हुने जी२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई समावेश नगर्ने घोषणा गरेका छन् । ट्रम्पले दक्षिण अफ्रिकालाई २०२६ को जी२० शिखर सम्मेलनको निमन्त्रणा नदिइने स्पष्ट पारेका छन् ।
उनले दक्षिण अफ्रिकामा श्वेत किसानहरूमाथि दमनको भन्दै दक्षिण अफ्रिकाविरुद्ध लामो समयदेखि आक्रमक टिप्पणी गर्दै आएका छन् । ट्रम्पले हालै दक्षिण अफ्रिकाले आयोजना गरेको जी२० शिखर सम्मेलन बहिष्कार गरेका थिए ।
अर्को वर्ष फ्लोरिडाको मियामीमा जी२० शिखर सम्मेलन हुँदै छ । उनले यसै वर्षको जी२० बैठकमा अमेरिकी प्रतिनिधिसँग गरिएको व्यवहारको कारण दक्षिण अफ्रिकालाई दिइने सबै आर्थिक सहायता र अनुदान तत्कालै लागु हुने गरि रोकिएको पनि घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गर्दै हालै आयोजना भएको जी२० शिखर सम्मेलन समाप्तिपछि दक्षिण अफ्रिकाले आफ्नो जी२० आयोजनाको जिम्मेवारी अमेरिकी दूतावासका एक वरिष्ठ प्रतिनिधिलाई सुम्पन अस्वीकार गरेको बताएका छन् ।
ट्रम्पले भने, “यसैकारण मेरो निर्देशनमा दक्षिण अफ्रिकालाई २०२६ को जी२० को निमन्त्रण दिइने छैन, जुन अर्को वर्ष फ्लोरिडाको मियामी सहरमा आयोजना हुनेछ ।”
उनले दक्षिण अफ्रिका संसारको कुनै पनि संस्थाको सदस्यता लायक राष्ट्र नभएको पनि बताए । एपीन्युज